• ६ वैशाख २०८१, बिहिबार

सीमा समस्यादेखि धुलाम्मे सडकसम्मका मुद्दा

blog

अशोक अधिकारी / प्रकाशविक्रम शाह

कञ्चनपुर, कात्तिक २८ गते । कञ्चनपुर भीमदत्त नगरपालिका–४ की स्थानीयवासी ललितादेवी भटट वर्षमा दुई पटक स्वास्थ्योपचारका लागि भारत जानुपर्छ। तर, आवतजावत गर्दा प्रायः सबै भारतीय सुरक्षाकर्मीको अनावश्यक ज्यादतीको झमेला भोग्नुपर्छ। 

यस पटकको निर्वाचनमा सीमावर्ती बजारदेखि दिल्लीसम्म जाँदा भोग्नुपर्ने झन्झटको कूटनीतिक समाधान निकाल्ने उम्मेदवारलाई मतदान गर्ने पक्षमा उहाँ हुनुहुन्छ। उहाँले भन्नुभयो, “हरेक उम्मेदवारलाई मैले भारत आवतजावत गर्दा नेपालीले पाउने सास्ती अन्त्य हुन्छ कि हुँदैन भनेर सोध्ने गरेकी छु। मलाई चित्त बुझ्ने उत्तर दिने उम्मेदवारलाई भोट हाल्छु।”

जनताको असीमित आशा र अपेक्षाका बीच सुदूरपश्चिम प्रदेशको सुगम जिल्ला कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ। मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा जनताबाट अनुमोदित हुने प्रयासमा उम्मेदवार छन। स्थानीय तहको निर्वाचनअनुसार सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको मतभार बलियो रहँदा नेकपा (एमाले) मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ।

सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा कञ्चनपुर क्षेत्र नं. १ मा माओवादी नेत्री बिना मगर, क्षेत्र नं. २ मा कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश (एनपी) साउद र क्षेत्र नं. ३ मा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक हुनुहुन्छ। एमालेका तर्फबाट क्षेत्र नं. १ मा तारा लामा तामाङ, क्षेत्र नं. २ मा नरबहादुर धामी र क्षेत्र नं. ३ मा नीरूदेवी पाल उम्मेदवार हुनुहुन्छ। 

सीमाका मुद्दा

सडक सञ्चालनले सबै पालिका र वडाहरू जोडिए पनि कालोपत्रे नहुँदा आमनागरिकले सास्ती बेहोर्नुपरिरहेको छ। कांग्रेस नेता साउदले आफू निर्वाचित भएपछि सडक स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो। 

उहाँले कञ्चनपुरलाई समुन्नत बनाउन व्यवस्थित गुरुयोजना बनाएर अघि बढने पनि बताउनुभयो। उहाँले भन्नुभयो, “महाकाली तेस्रो परियोजना म सिँचाइमन्त्री हुँदा सुरु भएको थियो, फुलेलीसम्म पुगेको छ। अब मालाखेतीसम्म लैजाने प्रबन्ध हुँदै छ।”

नदी नियन्त्रण, शुक्लाफाँटा आरक्षणको सीमावर्ती क्षेत्रसँग जोडिएका क्षेत्रका नागरिकको समस्या समाधानदेखि र थारू बस्तीदेखि शुक्लाफाँटासम्म सडक जोडन सके पर्यटकीय विकास हुने भएकाले यसका लागि पहल गर्ने उहाँको अठोट छ।

माओवादी नेत्री मगरले अघिल्लो कार्यकालमा सम्पन्न हुन बाँकी रहेका सडक आयोजना, विद्युत विस्तार र आमनागरिकको आर्थिक विकासका कार्यक्रमहरू पूरा गर्ने बताउनुभयो। एमाले उम्मेदवारद्वय पाल र धामीले अघिल्लो कार्यकालमा विकासका काम गरेको बताउँदै जिल्लाको विकासका मुद्दा उठाउनुभएको छ। 

‘कूटनीतिक समाधान खोज्छु’

कञ्चनपुर क्षेत्र नं. ३ का उम्मेदवार एवं कांग्रेस नेता लेखकले भारतसँगको सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयसँग धेरै पटक कुरा गरेको बताउनुभयो। उहाँले भारतका विदेशमन्त्रीसँग पनि यस विषयमा कुरा भइसकेको बताउँदै निर्वाचनपछि बन्ने सरकारलाई कूटनीतिक समाधानका लागि पहल गर्न दबाब दिने प्रस्ट पार्नुभयो। 

उहाँले भन्नुभयो, “सीमा क्षेत्रको समस्या सचेत भएर उठान गर्नुपर्छ, मैले सम्बन्धित निकायसँग छलफल गरेरै कुरा अघि बढाएको छु। यस विषयमा दुवै देशका सम्बन्धित निकायसँग संवाद अघि बढाइनेछ।” प्रतिनिधि सभातर्फ कञ्चनपुर क्षेत्र नं. १ मा १० जना, क्षेत्र नं. २ मा १० जना र क्षेत्र नं. ३ मा १२ जना उम्मेदवार हुनुहुन्छ। प्रदेश सभाका छ क्षेत्रमा ५० जनाले उम्मेदवारी दिनुभएको छ।