एक सय वर्षमा त्रिचन्द्र कलेज

लक्की चौधरी

 

काठमाडौँ,  भदौ ५ गते । नेपालमा उच्च शिक्षाको थालनी भएको एक सय वर्ष पुगेको छ । वि.सं. १९७५ (सन् १९१६) मा त्रिचन्द्र कलेज स्थापना भएसँगै नेपालमा उच्च शिक्षाको थालनी भएको थियो ।
१९७५ भदौ ५ गतेबाट विधिवत् उच्च शिक्षाको सुरुवात भएको मानिदै आएको छ । यसैलाई आधार मानेर शिक्षामा जागरण ल्याउने मुलुककै अग्रणी त्रिचन्द्र बहुमुखी क्याम्पसले सोमबार शतवार्षिकी समारोह मनाउँदैछ । सो कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुनेछ । शिक्षाका इतिहाससम्बन्धी पुस्तकहरूमा स्थापना मिति भदौ २७ गते लेखिएको पाइएको छ ।
त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. प्रदीपबहादुर न्यौपानेका अनुसार क्याम्पसले स्थापनाकालदेखि नेपालको उच्च शिक्षामा महìवपूर्ण योगदान गर्दै आएको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा उच्च शिक्षा सुरुवात गर्ने संस्थाको रूपमा सो कलेज स्थापना भएको थियो । तत्कालिन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्रशमशेरले संयुक्तरूपमा शिलान्यास गरेकै कारण क्याम्पसको नाम ‘त्रिभुवन चन्द्र कलेज’ राखिएको थियो । पछि १९८१ सालबाट यसको नाम ‘त्रिचन्द्र कलेज’ राखिएको थियो । त्रिचन्द्र कलेज उद्घाटनका दिनमा ‘सुविद्याको बज्यो घण्टा, विलायो मोहको टण्टा, अविद्याको टुट्यो डण्डा, गिरायो मोहको झण्डा’ भन्ने कविता वाचन गरिएको बताइए पनि सो कविता कसले लेखेका थिए भन्ने थाहा हुन सकेको छैन ।
राणाकालमा उच्च शिक्षाको संस्थागत थालनी भए पनि यो सर्व साधारणका लागि थिएन । राणा, शाह तथा अन्य सम्भ्रान्त परिवारका लागि मात्र यो कलेज खुला थियो । २००७ सालमा राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएपछि मात्र यसमा सर्वसाधारणले पनि पहुँच पाएका थिए । पूर्व क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद थपलियाले शिक्षा क्षेत्रमा कसैलाई त्रिचन्द्र कलेजको नाम चिनाइ राख्न नपर्ने बताउँदै त्यसको शिक्षा क्षेत्रको योगदान अविस्मरणीय रहेको तर्क गर्नुभयो । त्रिभुवन विश्वविद्यालय स्थापना नहुँदा नेपालको शैक्षिक क्षेत्रमा एकछत्र नेतृत्व गरेको सम्झँदै उहाँले भन्नुभयो, “यस कलेजबाट उत्पादित व्यक्ति मुलुकको मन्त्री र उच्चपदस्थ ओहदामा पुगेका छन् । ” क्याम्पसमा राजनीतिक प्रभाव परे पनि विद्यार्थीको चाप र गुणस्तर नखस्केको उहाँले दावी गर्नुभयो ।
वि.सं. १९८१ देखि बीए र २००४ देखि बी. एस्सी. को पठनपाठन सुरु गरेको सो क्याम्पसले २०१६ सालमा पटना विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको थियो । २०१६ मा त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि यो क्याम्पस सो विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रह्यो ।
सो क्याम्पसका पूर्व स्ववियु सभापति दीपक भट्टराईले त्रिचन्द्र कलेज उच्च शिक्षाको जननी रहेको बताउनुभयो । काठमाडौंँको रत्नपार्कको घण्टाघरमा अवस्थित यस क्याम्पसमा मानविकी र विज्ञान सङ्कायमा उच्च शिक्षाको पठनपाठन हुने गरेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds