• ८ वैशाख २०८१, शनिबार

बझाङमा मात्र दुई हजारभन्दा बढी घरमा क्षति

पाँच दिनमा ५०३ वटा पराकम्प : सचेत रहन विज्ञको सुझाव

blog

बझाङमा मात्र दुई हजारभन्दा बढी घरमा क्षति

 शैलेन्द्र रोकाया

बझाङ, कात्तिक २७ गते । गएको मंगलबार रातीदेखि खप्तड राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाएर ५ दिनको अवधिमा साना ठूला गरी ५०३ वटा पराकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मंगलबार राती ८ बजेर १२ मिनेटमा सुरु भएको भूकम्प पछि लगातार सोही क्षेत्रको आसपासमा धेरै पराकम्प गएकाले सुरक्षित र सचेत रहन लागि विज्ञहरूले सुझावसमेत दिएका छन् ।

चार जिल्लाको केन्द्रमा रहेको खप्तड क्षेत्र तथा आसपासलाई केन्द्र बिन्दु बनाएर कतिपय महसुस गर्ने खालका भूकम्प गएका छन् भने अधिकांश भूकम्पहरू महसुस नहुने खालका रेकर्ड गरिएको समेत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका भुकम्पविद भरत कोइरालाले बताउनुभयो ।

उहाँले गएको ५१७ वर्षयता पश्चिम नेपालमा ठूलो भुईँचालो नगएको बताउँदै अझै पनि ठूलो विनाशकारी भूकम्प आउन सक्ने हुनाले सचेत हुनुपर्ने सुझाव समेत दिनुभएको छ ।

सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्र हुँदै पृथ्वीको सतहमुनि दुईवटा प्लेटहरूको दरारमा शक्ति सञ्चित भई बसेकाले ८ रेक्टर स्केलभन्दा माथिको विनाशकारी भूकम्प आउने सम्भावना रहेकाले यसको तयारीका लागि सबैले सचेत भएर बस्नुपर्नेमा जोड दिनुभयो ।

ठूलो भूकम्प कहिले, कहाँ जान सक्छ भन्ने बारेमा भन्न नसकिने बताउँदै भौतिक पूर्वाधार निर्माण गर्दा भूकम्प प्रतिरोधी बनाउन, भोलिका दिनमा भूकम्पपछि आउने सम्भावित खतरा र त्यसले निम्त्याउने समस्यालाई दृष्टिगत गरेर तयारीमा जोड दिनुपर्ने उहाँको सुझाव छ ।

उहाँले हामीले सो क्षेत्रमा ८ रेक्टर स्केलभन्दा बढीको भूकम्पको शक्ति सञ्चित भएको अनुमान गरेका छौँ । सोही भूकम्प आउनलाई समेत ६ रेक्टर स्केलका एक हजारवटा भूकम्प गएको खण्डमा ८ रेक्टर स्केलको भूकम्प बराबरको शक्ति क्षयीकरण हुने हुनाले पनि अहिले भूकम्प आउँदैन भन्न नसकिने समेत उहाँले बताउनुभयो ।

पाँच रेक्टर स्केलका एक हजार भूकम्प गयो भने ७ रेक्टर स्केलको बरावरको मानिने हुनाले अझै सो क्षेत्रमा पृथ्वीको सतह मुनी रहेका प्लेटहरूको शक्ति क्षयीकरण भई नसकेकाले भूकम्प जति बेला पनि आउन सक्ने भएकाले यसको तयारीमा जोड दिनुपर्नेसमेत बताउनुभयो ।

बिहीबार राती ८ बजेर १२ मिनेटमा खप्तड आसपास केन्द्र बिन्दु बनार ५.७, सोही राती ९ बजेर ५६ मिनेटमा ४.१, बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ र शनिबार राती ८ बजेर १२ मिनेटमा ५.४ रेक्टरको भूकम्पपछि त्यस क्षेत्रमा आइतबार बिहान ६ बजेसम्म मात्र झन्डै ५०३ वटा भूकम्प गएका छन् ।

बझाङमा मात्रै एक हजारभन्दा बढी घरमा क्षति

पाँच दिनदेखि लगातार रूपमा आइरहेका साना ठूला भूकम्पका कारण बझाङ जिल्लामा मात्र दुई हजारभन्दा बढी घरहरूमा क्षति पुगेको छ । आइतबार राती आएको खप्तड राष्ट्रिय निकुञ्ज नजिकै रहेको खप्तड छान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र बिन्दु बनाई आएको भूकम्पका कारण अधिकांश घरहरू चर्केका र बस्न लायक नभएको स्थानीयको भनाइ छ ।

पटक पटक आइरहेका भूकम्पले सुदूरपश्चिम प्रदेशका ग्रामीण बस्तीमा रहेका कच्ची घरमा क्षति गरेको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिका, थलारा गाउँपालिकालगायतका क्षेत्रमा पुरानो संरचना अनुसार बनाइएका घरहरूमा चिरा चिरा परिभत्कने अवस्थामा पुगेपछि शनिबार रातीदेखि स्थानीय त्रिपाल मुनी बसेका छन् । जिल्लाका सबै पालिकाका अधिकांश घरमा क्षति पुगेको भए पनि सबैभन्दा बढी क्षति भने खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा गरेको छ ।

खप्तड छान्ना गाउँपालिका अध्यक्ष उत्तम रोकायाले खप्तड छान्ना गाउँपालिकामा रहेका झन्डै ८० प्रतिशत घरहरूमा क्षति गरेको बताउनुभयो । उहाँले गाउँमा जाँदा अधिकांश घरहरू चर्केर बस्न लायक सम्म नभएकाले स्थानीयहरूले त्रिपालमुनि बस्नुपर्ने अवस्था आएकाले सबै वडाबाट क्षतिको विवरण लिने कामसमेत भइरहेको बताउनुभयो ।

अहिलेसम्म तीनवटा घरहरू पूर्ण क्षति भएको जिल्ला प्रशासनको अभिलेखमा छ । जिल्लाका सबै गाउँपालिकाका भूकम्पले आंशिक क्षति गरेको विवरणसमेत आउनेक्रम जारी रहेको छ ।

यता प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले पुनर्निर्माण, पुनर्स्थापना र राहतका लागि गृह मन्त्रालय, आन्तरिक मामिला मन्त्रालय र राष्ट्रिय बिपद जोखिम न्यूनीकरण प्राधिकरणलगायतका निकायमा पत्राचारसमेत गरेको बताउनुभयो ।

उहाँले भूकम्पका कारण भएको क्षतिको खप्तड छान्ना गाउँपालिकामा राहत सामग्री लिएर नेपाल प्रहरी, रेडक्रस सोसाइटीलाई पठाएको बताउनुभयो । उहाँले गाउँपालिकाको रोहबरमा पूर्ण घर क्षति भएका परिवारलाई वितरण गर्ने व्यवस्था मिलाउने प्रबन्ध मिलाएको समेत बताउनुभयो ।

अर्यालले सम्भावित जोखिमलाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई समेत परिचालन गर्न सकिनेसमेत बताउनुभयो ।