• ८ वैशाख २०८१, शनिबार

वर्षा र हिमपातको सम्भावना

blog

काठमाडौं, कात्तिक २७ गते । पश्चिमी वायुको असरले अबको दुई/तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पश्चिमी वायुका कारण भोलि (सोमबार) र मङ्गलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नाका साथै जनजीवनमा सामान्य असर पर्ने देखिन्छ ।” आज साँझदेखि मौसममा केही असर पर्ने तर बढी असर भने पश्चिमी क्षेत्रमा पर्ने छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको बढी सम्भावना रहेको छ । त्यस्तै, प्रदेश नं १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हल्का वर्षा हुनाका साथै ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् भट्टराईले बताउनुभयो ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा पनि आज प्रदेश नं १ को पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सोमबार पनि प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।