• १२ वैशाख २०८१, बुधबार

गृह मन्त्रालयले संवेदनशील र अतिसंवेदनशील ठाउँको पहिचान गर्नुपर्छ : आयुक्त पौड्याल

blog

काठमाडौं, कात्तिक २७ गते । निर्वाचन आयोगका आयुक्तहरूले गृह र रक्षा मन्त्रालयले संवेदनशील र अतिसंवेदनशील ठाउँहरू पहिचान गर्नुपर्ने बताउनुभएको छ ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले गृह र रक्षा मन्त्रालयले संवेदनशील र अतिसंवेदनशील ठाउँहरू पहिचान गर्नुपर्ने बताउनुभयो हो । विगतको निर्वाचनमा हुलदङ्गा भए/नभएको आधारमा मात्र संवेदनशील र अतिसंवेदनशीलको परिभाषामा राख्नु उचित नहुने उहाँको भनाइ छ ।

उहाँले मौन अवधिमा उम्मेदवारले पैसा बाँड्ने गरेको भन्दै यसलाई रोक्न ध्यान दिनुपर्ने बताउनु भयो । र्‍यापिड टिम नै बनाएर मौन अवधिमा पैसा बाँड्नेहरूलाई रोक्न सकिने आयुक्त पौड्यालको भनाइ छ ।

यसैगरी, आयोगका अर्का आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ गरेका कारण उल्लङ्घनका घटना कम भएको बताउनुभएको छ ।

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहितामा निर्वाचन आयोगले कडाइ गरेका कारण निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना कम भएको बताउनुभएको हो । आयोग पहिले सुधारात्मक मोडलमा भए पनि यस निर्वाचनबाट दण्डात्मक रूपमा प्रस्तुत भएको भनाइ उहाँको छ ।


आयोगलाई उत्तेजित भएको आरोप लागेको भन्दै आयुक्त भण्डारीले आचारसंहिता परिपालना गराउने सन्दर्भमा आयोग संयमित रहेको बताउनुभयो । आयुक्त भण्डारीले बढी आचारसंहिता उल्लङ्घन हुने समय प्रचारप्रसारको समय भएको भन्दै सो अवधिलाई घटाएका कारण झनै अप्रिय घटनाहरू घट्न नपाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘आयोग अलि उत्तेजित भयो कि भन्ने सन्दर्भमा स्वाभाविक रूपमा हो आयोग अलि उत्तेजित भएको महसुस भएको छ । विभिन्न कोणबाट हामीलाई त्यो प्रतिक्रिया आएको छ । आयोग संयमित पनि असाध्यै संयमित छ । यदि यसरी सुरुदेखि नै आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्छौँ । पहिला हामी सुधारात्मक मोडलमा थियौँ ।’’

आयुक्त भण्डारीले आचारसंहिता उल्लङ्घनका १४९ वटा उजुरी निर्वाचन आयोगलाई प्राप्त भएको जानकारी दिनुभयो । त्यसमध्ये ११६ जनालाई स्पष्टीकरण सोधेको उहाँले बताउनुभयो । त्यसमध्ये नौ वटामा भने आचारसंहिता उल्लङ्घन भएको निर्णय आयोगले गरिसकेको उहाँले बताउनुभयो । उहाँले ३५ वटा मिसिलको सन्दर्भमा एक/दुई दिन भित्रै निर्णय गरिने र अन्य क्रमशः निर्णय हुँदै जाने स्पष्ट पार्नुभयो । आयुक्त भण्डारीले निर्वाचन आयोगले मतदानपूर्व नै आचारसंहिता उल्लङ्घन भएका उजुरीहरूको सम्पूर्ण निर्णय प्रक्रिया सक्ने बताउनुभयो ।