• १५ चैत २०८०, बिहिबार

नयाँ मतदाताको माग ‘कुराभन्दा काम गर्ने नेतृत्व चाहिन्छ’

blog

मतदातासँग मत माग्दै उम्मेदवारहरु । तस्बिर : मुना हमाल

मुना हमाल

सुर्खेत,  कात्तिक २७ गते । वीरेन्द्रनगर १४ का १९ वर्षीय यामलाल पौडेलले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनमा पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । सुर्खेत क्षेत्र नं २ प्रदेश सभा (ख) को उहाँ मतदाता हुनुहुन्छ । निर्वाचनले आफूलाई उत्साहित बनाए पनि युवालाई रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बेरोजगारको सङ्ख्या बढ्दो छ । अझ युवाहरू विदेश जान बाध्य छन् । हाम्रो अपेक्षा भनेको युवालाई आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्ने र आवश्यकताअनुसार नयाँ विकास गर्नु हो ।’ मङ्सिरमा हुने निर्वाचनका लागि उम्मेदवारहरू अहिले घरदैलो अभियानमा व्यस्त रहेका बेला नयाँ मतदाताले आफ्नो माग अघि सारेका छन् ।  

हाम्रो अपेक्षा भनेको युवालाई आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्ने र आवश्यकताअनुसार नयाँ विकास गर्नु हो ।

वीरेन्द्रनगर –६ का २१ वर्षीय ओकेन्द्रनाथ योगीले पनि यस पटकको निर्वाचन पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । कर्णालीमा आधारभूत आवश्यकता पूरा गर्ने काम गर्नुपर्ने उहाँले बताउनुभयो ।  राजनीतिक दलहरूले उही आश्वासन र उही उम्मेदवार उठाउने गर्नाले विकासको काम नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मैले २०७० देखिको निर्वाचनमा उठेका उम्मेदवार, उहाँहरूले ल्याएका घोषणापत्र पढेको छु । त्यतिबेला उठेका उम्मेदवार अहिले पनि चुनावमा उठिरहेका छन् । त्यसबेला घोषणापत्रमा उल्लेख भएका विषय अहिले पनि आइरहेका छन् ।’ मेरो बुबाआमाहरुले अहिलेसम्म उहाँहरूलाई नै भोट दिंदैआउनु भए पनि अब नयाँ र असल उम्मेदवार छान्ने उहाँले धारणा राख्नुभयो । अब कुराभन्दा काम गर्ने नेतृत्वको खाँचो रहेको उहाँले बताउनुभयो ।

ठूला सपनाभन्दा नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी लगायतका आधारभूत आवश्यकता पूरा गर्ने योजना ल्याएर कार्यान्वयन गर्नुपर्छ उहाँको सुझाव छ । यस पटक कर्णाली प्रदेशमा ६१ हजार पाँच सय नयाँ मतदाता थपिएका छन् । 

जितेपछि नेताहरुले आफ्नालाई मात्र हेर्ने र अरुलाई पाखा लगाउनेगरेकाले सबैलाई समान व्यवहार गर्नुपर्ने बताउनुभयो ।

२०७४ को निर्वाचनमा आठ लाख ४६ हजार नौ सय ३३ मतदाता थिए । यस पटक कर्णालीमा नौ लाख आठ हजार चार सय ३३ मतदाता पुगेका छन् । नयाँ मतदाता अहिले उम्मेदवारका घोषणापत्र र राजनीतिक दलहरूले अहिलेसम्म गरेका काम बारेमा जानकारी लिइरहनुभएको छ । राजनीतिक दलहरू तथा उम्मेदवार नयाँ मतदाता आफ्नो पक्षमा ल्याउन केन्द्रित हुनुभएको छ ।   

महाबु गाउँपालिका वडा १ खरिगैराका १९ वर्षीय अमर पौडेल पनि यस वर्ष पहिलो पटक मतदान गर्दैहुनुहन्छ । राजनीतिक दलहरूले अधिकांश पुरानालाई नै उम्मेदवार बनाएको भन्दै उहाँले पुरानाले काम नगरेको गुनासो गर्नुभयो । अहिलेसम्म जितेर गएका नेताहरू फेरि गाउँमा नआउने भएकाले अब जितेर गएकाहरू जनताको सुख दुःख बुझ्न बेलाबखत आउनुपर्छ उहाँले भन्नुभयो ।   

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका २० वर्षीया बिन्दु ओलीले जितेपछि नेताहरूले आफ्नालाई मात्र हेर्ने र अरूलाई पाखा लगाउने गरेकाले सबैलाई समान व्यवहार गर्नुपर्ने बताउनुभयो । गाउँ ठाउँको विकाससँगै रोजगारीको व्यवस्था गर्नुपर्ने उहाँले सुझाउनुभयो । सिएमएसम्म पढ्नुभएकी ओलीले  अहिलेसम्म आफूले पढेअनुसार काम नपाएको गुनासो गर्नुभयो ।

युवाको रोजगारीमा नेताहरूले जोड दिनुपर्ने उहाँको सुझाव छ । ‘हामीलाई समान व्यवहार गर्ने, रोजगारी दिने नेतृत्व हुनुपर्छ’ उहाँले भन्नुभयो, “हामी पढेर पनि बेरोजगार छौँ । अहिलेसम्म चुनाव जितेकाले आफ्ना मान्छेलाई मात्र अघि बढाए, अब हामी सबैलाई हेर्नुपर्छ ।”

हामी पढेर पनि बेरोजगार छौँ । अहिलेसम्म चुनाव जितेकाले आफ्ना मान्छेलाई मात्र अघि बढाए, अब हामी सबैलाई हेर्नुपर्छ ।

आफ्नालाई मात्र हेर्ने नेताको काम छैन, समस्या भएका सबै युवालाई समान अवसरको खाँचो हुन्छ ओलीले थप्नुभयो, “जागिरमा सबैको समान पहुँच हुनुपर्छ, हामीलाई सहज रूपमा रोजगार दिनुपर्ने नेता आवश्यक छ” उहाँले भन्नुभयो ।

नयाँ मतदाताहरूले नयाँ र असल उम्मेदवारको खाँचो रहेको बताइरहेका बेला घरदैलोमा मत माग्न व्यस्त उम्मेदवारले जनताको चाहनाअनुसार आफूहरूले काम गर्ने प्रतिबद्धता जनाइरहनुभएको छ । नयाँले भन्दा पुराना उम्मेदवार नै अनुभवी र समस्या बुझेका उम्मेदवार भएकाले विकासको काम आफूहरूकै नेतृत्वमा सम्भव रहेको उहाँहरूको दाबी छ । 

पूर्वमन्त्री तथा सुर्खेत क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हृदयराम थानीले अहिलेसम्म नेताहरुले केही गरेनन् भन्ने कुरा गलत भएको बताउनुभयो ।

पूर्वमन्त्री तथा सुर्खेत क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हृदयराम थानीले अहिलेसम्म नेताहरूले केही गरेनन् भन्ने कुरा गलत भएको बताउनुभयो । आफूले सुरुवात गरेका केही विकासको काम सम्पन्न भएको र अन्य काम पूरा हुने चरणमा रहेको दाबी गर्नुभयो ।

आफूले जितेको बेलामा सुर्खेतमा सडक, खानेपानी, विद्युतका काम अघि बढेको उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, ‘बाँकी रहेका काम सडक, विद्युत्, खानेपानीको आयोजना अघि बढाउन र युवालाई रोजगारी दिन दैलेखको तेल खानीको काम अघि बढाउनुपर्छ ।’