• ११ वैशाख २०८१, मङ्गलबार

गुल्मीमा नमूना मतदान

blog

रेसुङ्गा बहुमुखी क्याम्पसमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि गरिएको नमूना मतदान। तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, कात्तिक २७ गते। गुल्मी जिल्लामा निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई नमूना मतदान गराइएको छ।

नयाँ कर्मचारी भएकाले उहाँहरूलाई निर्वाचनको प्रक्रिया बारेमा जानकारी गराउनका लागि नमूना मतदान गराइएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो। 

निर्वाचनको प्रक्रिया, मुचुल्का तयारलगायत निर्वाचन सुरु हुनुपूर्व र सकिए पश्चातका प्रक्रियाको बारेमा जानकारी गराउन र कार्य स्थलमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले नमूना मतदान गराइएको पाण्डेको भनाइ छ।

जिल्लामा २७८ मतदान केन्द्र र १४२ मतदानस्थल रहेको निर्वाचन कार्यालयले जनाएको छ। जसका लागि ५५६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि शनिबार र आइतबार तालिम प्रदान गरिएको छ। 

तालिम पश्चात् उहाँहरूलाई मतदानका लागि चाहिने सम्पूर्ण सामग्री प्रदान गर्ने कार्यक्रम रहेको कार्यालयले जनाएको छ। जसका लागि कात्तिक ३० गते र मङ्सिर १ गते सामग्री हस्तान्तरण गर्ने योजना बनाएको पाण्डेले बताउनुभयो।

कारागारमा अस्थायी मतदान केन्द्र थप

जिल्ला कारागार गुल्मीमा एक अस्थायी मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। शनिबार मात्र निर्वाचन आयोगबाट जिल्ला कारागार कार्यालयमा एक मतदान केन्द्र थप भएर आएको र त्यस केन्द्रका लागि एक एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत थप भएको पाण्डेले जानकारी दिनुभयो। कारागारमा रहेका कैदीबन्दीले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्र मतदान गर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ।

जिल्ला कारागार कार्यालय गुल्मीमा ७९ जा कैदीबन्दी रहेका छन्। जसमा ४३ कैदी र ३६ जना थुनुवा रहेको जिल्ला कारागार कार्यालय गुल्मीका सूचना अधिकारी सीता भण्डारीले जानकारी दिनुभयो।

यता मुख्य निर्वाचन अधिकृतको कार्यालयले भइपरी केही अवस्था आउन सक्ने भन्दै २५ जना निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतलाई तयारी अवस्थामा राखेको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिनुभयो। गुल्मीमा कुल दुई लाख २३ हजार ६१५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।