• १२ वैशाख २०८१, बुधबार

बासिरको कप्तानीमा पाकिस्तान टोली घोषणा

blog

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली । तस्बिर : पाकिस्तान फुटबल फेडेरेसन

काठमाडौं, कात्तिक २७ गते । दशरथ रङ्गशालामा कात्तिक ३० गते आयोजना हुन लागेको नेपालसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि पाकिस्तानले हसन बासिरको कप्तानीमा २४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ । 

पाकिस्तान फुटबल फेडेरेसनले आइतबार खेलाडी टोलीको घोषणा गरेको हो । लामो समय विश्व फुटबल महासङ्घ (फिफा) को प्रतिबन्धमा रहेको पाकिस्तान प्रतिबन्ध फुकुवाभएसँगै अहिले अन्तर्राष्ट्रिय फुटबलमा अभ्यस्त बन्ने प्रयासमा गर्दैछ । पाकिस्तान नेपालसँग खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो । 

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तान टोलीको गोलरक्षकमा सविक हनिफ, युसुफ इजाज बट र अब्दुल बासित हुनुहुन्छ । रक्षकहरूमा राओ उमर हायात, जेन उल अबादिन, जुदैन शाह, सोहेल खान, अब्दुल्लाह शह, सरदार वाली, हासिब अहमेद खान र मोहमुन मोसा खान हुनुहुन्छ । 

यस्तै मिडफिल्डरहरुमा उमर अली, जैनुल अविदिन, अब्दुल कादिर खान, अलामगिर घाजी, मोहम्मद अद्नान याकुव र आनन्द साहिद हुनुहुन्छ । स्ट्राइकरहरूमा मोहम्मद अफ्जल, हसन बासिर, मुहामेद वाहिद, वालिद खान, सायक दोस्त र आदिल युनुस हुनुहुन्छ । पाकिस्तान टोली आइतबार राति ११ः४५ बजे नेपाल आउँदैछ । 

यस मैत्रीपूर्ण खेलका लागि घरेलु टोली नेपालले यसअघिकै २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । टोलीका प्रशिक्षक प्रवेश कटुवालले रक्षक रोहित चन्दको कप्तानीमा टोलीको घोषणा गर्नुभएको हो ।

नियमित कप्तान किरण चेम्जोङ अनुपस्थित हुने भएपछि प्रशिक्षक कप्तानको जिम्मेवारी रोहितलाई दिइएको हो । किरण अहिले व्यावसायिक खेलका लागि भारतमा हुनुहुन्छ । नेपाली टोलीको गोलरक्षकमा विशाल श्रेष्ठ, दीप कार्की र विकेश कुथु हुनुहुन्छ । यसैगरी रक्षकहरूमा कप्तान रोहितसहित अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ र निशान खड्का हुनुहुन्छ ।

मिडफिल्डरहरुमा  तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट र आभास लामिछाने रहनु भएको छ । यस्तै टोलीको स्ट्राइकरहरूमा अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का र सुजल श्रेष्ठ हुनुहुन्छ । नेपाल र पाकिस्तानबीचको खेल साँझ ५:३० बजे हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।