• ८ वैशाख २०८१, शनिबार

सडक सुरक्षाको पूर्व तयारी, खोज र उद्धार कार्यलाई प्राथमिकतामा राख्नुपर्छ : उपप्रमुख

blog

अग्नि नियन्त्रकका लागि जुद्ध वारुणयन्त्र कार्यालयमा दुईदिने सडक सुरक्षा तालिम सम्पन्न । तस्बिर : काठमाडौं महानगर

काठमाडौं, कात्तिक २७ गते । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले सडक सुरक्षा कार्यक्रमअन्तर्गत जोखिम व्यवस्थापन पूर्व तयारीसँगै खोज तथा उद्धारलाई समान प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ ।

अग्नि नियन्त्रकका लागि जुद्ध वारुणयन्त्र कार्यालय, नयाँ सडकमा सञ्चालन गरिएको दुईदिने सडक सुरक्षा तालिम समापनको अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र दिनुहुँदै उपप्रमुख डङ्गोलले सो धारणा राख्नुभएको हो ।

‘‘सडक दुर्घटना व्यवस्थापन गर्न सीप र दक्षता आवश्यक पर्छ । यसो हुन सकेन भने जन र धनको रोक्न सकिँदैन । सीप नहुँदा जोखिममा रहेकाको ज्यान जान पनि सक्छ । यस कोणबाट तालिमको ठूलो महत्त्व रहनेछ ।,’’ उहाँले भन्नुभयो, ‘‘दुर्घटनमा परेका मानिसको कुशलतापूर्वक जीवन रक्षा हुनु तालिमको आवश्यकता पर्छ ।’’

त्यस्तै, सडक सुरक्षा परिषद्का अध्यक्ष गोपालप्रसाद सिग्देलले, अन्तर सरकार सहकार्यबाट नतिजामूलक काम गर्ने योजना रहेको बताउनुभयो । नीति पैरवी र क्षमता विकास कार्यक्रमबाट परिषद्ले काम थालेको उहाँको भनाइ थियो । त्यसैगरी, रोटरी क्लब अफ दरबारमार्गका अध्यक्ष एकनारायण ढकालले मानवीय सुरक्षा र संवेदनशीलताका लागि सहकार्यका लागि आफ्नो जिम्मेवारी पूरा गराउनुभयो ।

काठमाडौं महानगरसँगको सहकार्यमा सडक सुरक्षा परिषद, सडक सुरक्षा समाज र रोटरी क्लब अफ दरबारमार्गले आयोजना गरेको तालिमका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विश्व स्वास्थ्य सङ्गठन नेपाल, नेपाल इन्ज्युरी रिसर्च नेपाल, नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टरले सहयोग गरेका थिए ।

यसमा काठमाडौं उपत्यकाका पालिकाहरुबाट ४० जना अग्नि नियन्त्रक सहभागी हुनुहुन्थ्यो । अग्नि नियन्त्रक नभएका पालिकाहरुबाट पर्यवेक्षक/अवलोकनकर्ताका रुपमा सहभागी गराइएको थियो । तालिममा ग्रेटर मेनचेस्टर फायर एण्ड रेस्क्यु सर्भिस, बेलायतबाट रोवट ब्रिटल्स र जन्सन स्नुहामले प्रशिक्षण दिनुभएको थियो । 

तालिममा दुर्घटना र मानवीयताको कोण, घटनास्थलमा पुग्ने र अवस्थाको विश्लेषण गर्ने, सवारीको अवस्था र त्यसलाई स्थित बनाउने तरिका, खोज, उद्धारका लागि भौतिक साधन तथा उपकरणको व्यवस्थापन, अन्य जोखिम भए त्यसलाई घटाउने वा हटाउने, उद्धार कार्यको समाप्तिलगायत विषय समावेश छन् । तालिमका क्रममा सैद्धान्तिक ज्ञानसहित व्यावहारिक सीपका लागि प्रयोगात्मक कक्षा सञ्चालन भएका थिए ।

विश्व बैंकले गरेको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाबाट राष्ट्रिय उत्पादनको १.५ प्रतिशत आर्थिक क्षति व्यहाेर्नुपरेको छ । नेपाल दक्षिण एसियाली मुलुकहरुमा सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशमध्येको एक हो । दुर्घटनाबाट ज्यान जाने, अङ्गभङ्ग हुनेलगायतका क्षति हुन्छन् । सडक प्रयोगकर्तामध्ये पैदलयात्री, साइकलयात्री र मोटरसाइकल यात्री सडक दुर्घटनाको सबैभन्दा जोखिममा पर्ने गरेका छन् । सन् २०३० सम्ममा पूरा गर्नुपर्ने दिगो विकास लक्ष्यमा सडक दुर्घटनालाई आधा घटाउनुपर्ने सूचक छ ।