• १६ चैत २०८०, शुक्रबार

नायिका मानन्धर र अधिकारी पोखरेलको चुनावी प्रचारमा

blog

काठमाडौं, कात्तिक २७ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भोट माग्दै अभिनेत्री करिष्मा मानन्धर र चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी मतदाताको घरदैलोमा सहभागी हुनुभएको छ ।  

करिष्मा र आकाशले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका पोखरेलको चुनावी अभियानमा उहाँहरु खटिनुभएको हो । आइतबार बिहान काठमाडौं महानगरपालिका ३ वसुन्धारामा पोखरेलका लागि घरदैलो अभियानमा सहभागी हुनुभयो । 

आफू पनि काठमाडौं क्षेत्र नम्बर ५ को स्थायी बासिन्दा भएको बताउँदै अभिनेत्री मानन्धरले पोखरेलले यस क्षेत्रको विकासका लागि धेरै काम गरेको बताउनुभयो । जनताको माझमा भिजेको नेता पोखरेललाई निर्वाचित गर्न उहाँले मतदातासँग आग्रह गर्नुभयो । यस क्षेत्रमा नेता पोखरेलको विकल्प नभएको उहाँको भनाइ छ ।   

देश विकासको लक्ष्य लिएर अगाडि बढेको एक मात्र पार्टी एमाले रहेको भन्दै अभिनेत्री मानन्धरले एमालेले जिते मात्रै देशले विकासमा काँचुली फेर्न सम्भव हुने प्रतिक्रिया दिनुभयो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेले जनतामा विकासको अनुभूति गराउन सफल भएको र आगामी सरकारकाे नेतृत्व पुनः एमालेले गर्ने अवसर पाएमा देशले आर्थिक विकास गर्ने उहाँको भनाइ छ ।  

घरदैलोका क्रममा वडा ३ का मतदाताले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई स्वागत गर्दै जितको शुभकामना दिनुभएको उहाँको सचिवालयले जनाएको छ । जनताको सद्भाव र विश्वासप्रति आफू नतमस्तक रहेको भन्दै पोखरेलले सदैव जनताको सुख दुख र विकासमा आफू साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधिसभामा एमालेबाट पोखरेल तथा प्रदेशसभा ५ (१) मा नारायण सिलवाल र ५ (२) मा दीपक निरौला उम्मेदवार रहनुभएको छ ।