• ७ वैशाख २०८१, शुक्रबार

४० वर्षदेखिको आश्वासन पूरा गर्न मतदाताको माग

blog

माछा मार्न नयाँ जाल बुन्न व्यस्त रामेश्वर माझी । तस्बिर – मीना कँडेल

मीना कँडेल

कावासोती, कात्तिक २७ गते । पूर्वी नवलपरासीको कावासोती – १५ का रामेश्वर माझी माछा मार्न नयाँ जाल बुन्न व्यस्त हुनुहुन्छ । माछा मारेर दिनचर्या बिताउने उहाँलाई चुनाव नजिकिए पनि खासै चासो लागेको छैन । अहिलेसम्म चार वटा निर्वाचनमा मतदान गरिसक्नुभएका उहाँका अनुसार नेता र उम्मेदवारले दिएको आश्वासन पूरा भएको छैन । 

वि.सं.२०३५ सालदेखि बसोबास गरेको जग्गाको लालपुर्जा दिने नेता र जनप्रतिनिधिको ४० वर्षदेखिको आश्वासन कहिले पूरा हुने हो उहाँलाई पत्तो छैन । अन्य आर्थिक स्रोत केही छैन, जग्गाको पुर्जा भएमा सानोतिनो भए पनि व्यवसाय गर्ने सोचमा हुनुहुन्छ तर लालपुर्जा नभएकाले समस्या परेको गुनासो गर्नुहुन्छ ।

कावासोती १५ बोटे बस्तीका ५० वर्षीय सुनफुलिया मुसहर पनि लालपुर्जा नहुँदा बैंक र सहकारीले ऋण नदिएपछि गाउँघरमा नै मजदुरी गरेर दिनचर्या काट्न बाध्य भएको बताउनुहुन्छ । ‘३५ वर्षदेखि पुर्जा दिन्छु भनेर भोट मागेका छन् । चुनाव जितेपछि अनेकौं बहाना बनाउँछन् । अहिले फेरि लालपुर्जा दिन्छौं भन्दै भोट माग्न आएका छन् ।’ उहाँले भन्नुभयो, ‘हामी बोटे, माझी मुसहर सबैले हाम्रो समस्या बुझ्ने व्यक्तिलाई भोट हाल्ने हो । 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो बस्तीमा सधैँ डुबानको समस्या छ । जङ्गल जनिकै रहेको बस्तीमा जङ्गली जनावरले मानिस तथा खेतीमा आक्रमण गर्ने र क्षति पुर्याउने गरेको छ । तर,पनि अहिलेसम्म यो समस्या हटेको छैन ।

चुनावमा मात्र नेता यो बस्तीमा पस्ने गर्दछन् । लालपुर्जा नपाउनु एउटा समस्या छ भने जङ्गली जनावरले खेती नष्ट गरिदिँदा जसोतसो गरेर बाँकी रहेको खेतीले वर्षभरि खान पुर्याउनुपर्ने विष्णु माझीले बताउनुभयो ।

प्रतिनिधि र प्रदेश सभामा राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मदेवार अहिले पनि यो बस्तीमा लालपुर्जा र गरिबी उन्मूलनको नारा लिएर घरदैलोमा मत माग्न व्यस्त छन् । पूर्वी नवलपरासीमा मात्र करिब १५ हजार भूमिहीन र अव्यवस्थित बसोबासी छन् ।