• १६ चैत २०८०, शुक्रबार

लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान

blog

बेरुत, कात्तिक २७ गते ।  लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयौं मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिबारदेखि यो अभियान सुरु भएको जनाएको छ । यो अभियान एक हप्तासम्म सञ्चालन गरिने जनाइएको छ ।

एक हप्तामा यहाँका कम्तीमा पनि छ लाख मानिसलाई हैजाविरुद्धको खोप दिइने यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो । गत अक्टोबर ६ तारिखमा यहाँको स्वास्थ्य मन्त्रालयले लेबनानमा हैजा देखिएको जनाएको थियो ।

त्यस यता यो रोगबाट १८ जनाको ज्यान गएको छ भने अरु हजारौँ जना बिरामी भएका छन् । लेबनानले सहयोगका लागि विश्व समुदायलाई नै आग्रह गरेको थियो । यसैबीच संयुक्त राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको गत हप्ता जनाएको थियो । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो ।

केही हप्ता यतादेखि लेबनानमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाइ एवम् औषधि उपचारका लागि लेबनानले आर्थिक सहयोगको याचना गरेको थियो ।

यहाँ देखिएको हैजाबाट ४९० जना बिरामी अस्पतालमा राखिएको जनाइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले गत अक्टोबर ६ देखि नै यहाँ हैजा भेटिएको र त्यसयता हैजाको सङ्क्रमण फैलिएको जनाएको छ । रासस/सिन्ह्वा