• ८ वैशाख २०८१, शनिबार

सुदूरपश्चिमको सरगर्मी

blog

प्रधानमन्त्री शेरबहादुर देउवा एक साता सुदूरपश्चिमका चुनावी भ्रमणमा व्यस्त रहनुभयो। उहाँले गृहजिल्ला डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न ठूला, साना सभामा सम्बोधन गर्नुभयो । आफ्ना शुभेच्छुक तथा आममतदातालाई गठबन्धनका पक्षमा मतदान गर्न आग्रह पनि गर्नुभयो । सम्बोधनका क्रममा स्थानीय भाषामा बोलिरहँदा र डडेल्धुरामा गर्न बाँकी विकाससम्बन्धी अधुरा काम पूरा गर्ने आश्वासन दिइरहँदा सुदूरपश्चिमवासीले खुसी प्रकट गरे । 

रूपाल, अजयमेरु र डडेल्धुरा सदरमुकामलगायतका प्रमुख ठाउँमा देखिएको नरनारीको उपस्थिति यसभन्दा अघिका चुनावी सभामा भन्दा कम थिएन। त्यो उपस्थिति उहाँको राजनीतिक आर्जनको प्रतिफल हो । जिल्लामा देउवाले सडक, खानेपानी, विद्युत्, रोजगार, कृषि क्षेत्र आदिमा गरेको विकाससम्बन्धी परिणामको उपज पनि हो । ३० वर्षअघिको डडेल्धुराको स्वरूप र वर्तमान अवस्था हेर्ने हो भने विकासले धेरै फड्को मारेको पाइन्छ । 

भित्री मधेशमा पर्ने जोगबुढा डडेल्धुराको दोस्रो आकर्षणको केन्द्र हो। जहाँ धेरै मतदाता छन्। यो क्षेत्र महाकाली नदीको किनारामा रहेको छ। घना जङ्गलले घेरेको भावर क्षेत्रमा धेरै जिल्लाका मानिस बसोबास गर्छन् । त्यहाँ बझाङ, बाजुरा र दार्चुला जिल्लाका मानिसको बाहुल्य छ । जङ्गली जनावरका साथै विषालु सर्प, बिच्छीको बिगबिगी रहेको जोगबुढामा १० वर्षपहिलेसम्म यातायात पुगेको थिएन । पिउनेपानीको अभाव त्यस्तै थियो । बसोवास व्यवस्थित थिएन । विद्यालय र अस्पतालको सुविधा केही पनि थिएन । आफू प्रधानमन्त्री बनेपछि यस क्षेत्रमा पूरै परिवर्तन भएको देखेर खुसी हुँदै देउवाले अब सडक सञ्जालले कन्चनपुर गड्डाचौकीसम्म जोड्ने प्रतिबद्धता जनाउनुभएको छ। 

ठूलो जनसङ्ख्या रहेको जोगबुढा अहिले आधुनिक सहरमा परिणत भइरहेछ। जिल्लाका धेरैजसो युवा १५/२० वर्षपहिले भारतको सहरमा कामको खोजीमा पस्ने गर्थे तर अहिले यो क्रम घटेको देखिन्छ। साथै जिल्लामा गैरसरकारी संस्थामार्फत आधुनिक खेती, बाख्रापालन, गाईपालन, मौरीपालन, फलफूल खेती, स–साना उद्योगधन्दामा रहेर युवा काम गरिरहेका देखिन्छन्। यसमा देउवापत्नी डा. आरजु राणा देउवाको ठूलो सहयोग रहेको कुरा स्थानीय बासिन्दा भीमबहादुर साउद र रघुवीर भट्ट बताउँछन्।

वि.सं. २०५२ मा पहिलो पटक प्रधानमन्त्री पद सम्हाल्दा देउवाले कर्णाली नदीपारिका २२ वटा पुलको शिलान्यास गर्नुभयो। सुदूरपश्चिमका नौ जिल्ला बझाङ, बाजुरा, दार्चुला, बैतडी, अछाम, डोटीका सदरमुकाममा पुग्ने शाखा सडकले छोएपछि त्यो क्षेत्रको विकासले गति लिएको हो। पिठ्यँुमा भारी बोकेर बझाङ, बाजुरा र अछामका मानिस नौ–दस दिनको पैदलयात्रा गरी तराई र भारतको टनकपुरमा हाट जाने चलनको अन्त्य भएको पनि धेरै भयो। अझै विकास गर्न धेरै बाँकी छ। 

सुदूरको विकासको प्रारम्भ देउवाले नै गरेकाले एमाले, माओवादी, राप्रपालगायतका सबै पार्टी र तिनका नेता कार्यकर्ताले देउवाको नेतृत्व सहज रूपमा स्वीकार गरेको पाइन्छ। आसन्न निर्वाचनमा यसअघिका चुनावमा जस्तै डडेल्धुरा जिल्लावासीले देउवालाई नै विजयको माला पहिराउने आकलन त्यस क्षेत्रका बुद्धिजीवी र स्थानीय बासिन्दाको छ। अहिलेसम्मको चुनावमा अपराजित देउवा, सभामा छोटो बोल्ने तर गर्न सक्ने कुरा मात्र बोल्ने नेता भएकाले सुदूरपश्चिमवासीले मन पराएका व्यक्ति हुन् भनेर एक पटक तत्कालीन कांग्रेस नेता टेकबहादुर चोख्यालले भन्नुभएको स्मरण हुन्छ। 

डडेल्धुराका विभिन्न चुनावी सभामा सम्बोधन गर्ने क्रममा मतदाता र जिल्लाका वयोवृद्धलाई समेत भेट गर्दै प्रधानमन्त्री देउवा दार्चुलाको सदरमुकाम खलङ्गा पनि पुग्नुभयो। संवेदनशील जिल्ला हो दार्चुला। एकातिर महाकाली नदीको भेलबाट सदरमुकाम खलङ्गालाई बचाउनु छ भने अर्काेतिर कालापानी, लिपुलेक र लिम्पियाधुरालाई कूटनीतिक माध्यमबाट भारतसँग वार्ता गरी नेपालमा गाभ्नु टड्कारो आवश्यकता देखिन्छ। 

कोरोनाको बेला महाकाली नदीको तुइन भारतीय सुरक्षाकर्मीले काटिदिँदा जयबहादुर धामीको दुःखद निधन भएको दार्चुलावासीले भुलेका छैनन्। भारतले नेपालमाथि गरेको हेपाहा प्रवृत्तिको यो पछिल्लो उदाहरण हो। केही दिनअघि मात्र भारतीय पक्षले एकतर्फी रूपमा सडक बाटो निर्माण गरिरहँदा 

ढुङ्गा उछिट्टिएर नेपाली बालकको दुःखद निधन भएको आलो घाउ अझै बिसेक भएको छैन।

यसैगरी ४० वर्षअघिसम्म नेपालको भू–भागमा रहेका दार्चुला जिल्लाका नाभी, कुती र गुन्जीका बारे छिमेकी मुलुक भारतसँग सन्दर्भ उठाउनु आवश्यक देखिन्छ। यी धेरै विषयका बारेमा कूटनीतिक माध्यमबाट नै नेपाल र भारतका प्रधानमन्त्रीबीच छलफल हुनु अति आवश्यक छ। जुन कुरा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले चुनावी भ्रमणका क्रममा जनसमक्ष बताइसक्नुभएको छ। 

केही दिनअघि एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुला र कन्चनपुरको चुनावी सभामा चुच्चे नक्साका बारे कुरा उठाउनुभएको थियो। हो, उहाँको प्रधानमन्त्रित्व कालमा नेपालको चुच्चे नक्सा तयार भएको हो। नेपालको सार्वभौमसत्ता र अखण्डताको पक्षमा सबै सांसद एकमत भएर नक्सासम्बन्धी प्रस्ताव 

संसद्बाट पास गरेको बेहोरा जगजाहेर नै छ। यही कुरामा केन्द्रित रही प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीको बोलीको जवाफ दार्चुलामा पुगेर दिनुभएको छ। देउवा डडेल्धुरामा जन्मनुभएको सुदूरपश्चिमको वास्तविक धरातल बुझेको नेता हुनुहुन्छ। देउवा सुदूरपश्चिमवासीले भरोसा गरेको नेता हुनुहुन्छ । ओली चतुर राजनीतिक खेलाडीका साथै झापाको माटोमा जन्मनुभएको नेता हुनुहुन्छ। दुवै नेताको बोलीमा शीतयुद्धका शब्द नघुसून् भन्ने मतदाताको चाहना छ। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आफ्नो निर्वाचन क्षेत्र गोरखा जिल्लाका धेरै आमसभामा सम्मिलित भएर सुदूरपश्चिमको दार्चुला पुग्नुभयो। गठबन्धन सरकार भएको अवस्था र चुनावमा पनि गठबन्धनको उम्मेदवारलाई विजय गराउनका लागि आफ्नो भ्रमण प्रधानमन्त्री देउवासँगै रहोस् भन्नका लागि पनि यस्तो भएको हुनसक्छ। यी तीन जना राजनीतिका भारी वजनदार नेता हुन्। जसको बोलीको प्रभाव जनतामा धेरै पर्ने गर्छ। 

प्रधानमन्त्री देउवा आफ्नो सम्बोधनका क्रममा जनतालाई सन्तुलित भाषा प्रयोग गर्न सिपालु हुनुहुन्छ। कम बोलेर धेरै अर्थ लाग्ने शब्द बोल्ने उहाँको पुरानै बानी हो। ओली र प्रचण्डले एकआपसमा दोषारोपणका भाषा प्रयोग गरेको सुनिन्छ। नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि मधुर बोली कम बोल्न थाल्नुभएको पाइन्छ। उहाँको दाँजोमा सो पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भने इलामका सभामा राजनीतिक जोड घटाउका सरल भाषा प्रयोग गरिरहेको देखिन्छ। आ–आफ्नो राजनीतिक 

पाठशालाबाट सिक्दै आएका कुरा चुनावमा जनतामाझ प्रयोग गर्नु प्रत्येक नेता र उम्मेदवारको निजी विशेषता मान्न सकिन्छ। 

बैतडी अमर शहीद दशरथ चन्द जन्मेको भूमि हो। सुदूरपश्चिमका नौ जिल्लाझैँ बैतडीले पनि लोकतन्त्र प्राप्तिमा ठूलो भूमिका निर्वाह गरेको छ। डडेल्धुरा, बैतडी, बझाङको राजनीतिक अवस्था करिब करिब समान रूपले नै देख्न सकिन्छ। ऐतिहासिक झुलाघाटपुलको निर्माण र नेपाल–भारतबीचका सीमासम्बन्धी कुरा कूटनीतिक र समझदारीका आधारमा टुङ्गिनेछन् भनी प्रधानमन्त्री देउवाले बैतडीस्थित पाटनको आमसभामा व्यक्त धारणालाई त्यहाँका बुद्धिजीवीले अर्थपूर्ण रूपमा लिएका छन्। 

धेरै नै सम्भावना बोकेको प्रदेश हो– सुदूरपश्चिम। जल, जमिन र जङ्गल प्रशस्तै भएको क्षेत्र पनि भएकाले, विकासमा पछाडि परेको यो क्षेत्रलाई न्याय दिनु आवश्यक देखिन्छ। प्रधानमन्त्री देउवाका अगाडि डडेल्धुरामा चुनौती नदेखिएका छैनन्। आफ्नै जिल्लाका केही कार्यकर्तामा असन्तुष्टि छन् । त्यस क्षेत्रमा “देउवा अपी र साइपाल हिमालझैँ अग्ला राजनीतिक नेता देखिनुहुन्छ। यस पटक 

उहाँको ७औँ चुनावी जित हुनेछ” भन्ने गर्छन् सुदूरपश्चिमका बुद्धिजीवी। 

यसअघिका चुनावमा प्रधानमन्त्री देउवाको सक्रियता र नेतृत्वकै कारण सुदूरपश्चिमका नौवटै जिल्लामा कांग्रेसको बाहुल्य रहेको थियो। उन्नाइस सिटमा १८ सिट जित्न सफल पनि भएको थियो– २०४८ को निर्वाचनमा। अहिले सो अवस्था रहेन। गठबन्धनका कारण राजनीति उतारचढाव भएको देखिन्छ । कांग्रेस सुदूरपश्चिमका होनाहार व्यक्ति टिकट पाउनबाट वञ्चित भएका छन्। यो अवस्था देशभरि नै टड्कारो रूपमा देखा परेको छ। लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले देशमा लोकतान्त्रिक संस्कृति जोगाउनु वर्तमान अवस्थामा आवश्यक देखिन्छ।  इतिहास बोकेको भूमि हो– सुदूरपश्चिम। नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी (डोटी), किसानका क्रान्तिकारी नेता भीमदत्त पन्त (डडेल्धुरा), मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह (बझाङ), प्रथम वियोगान्त नाटककार पहलमान सिंह स्वार (अछाम), दार्शनिक चिन्तक डा. डी.पी. भण्डारी आदिजस्ता वीर वीरङ्गना जन्माएको भूमि सुदूरपश्चिमले पछिल्लो अवस्थामा पाँच पटकसम्म प्रधानमन्त्री बन्न सफल शेरबहादुर देउवाबाट यहाँका जनताले अझै विकासको आशा गरेका छन्।