• ७ वैशाख २०८१, शुक्रबार

स्याङजा

स्याङ्जामा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा

blog

स्याङजा क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवार राजु थापा र नारायणप्रसाद मरासिनी , क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार धनराज गुरुङ र पद्माकुमारी अर्याल । तस्बिरः गोरखापत्र

स्याङ्जा, कार्तिक २७ गते । मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जामा सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुई सङ्घीय र चार प्रदेश क्षेत्र रहेको यहाँ प्रतिनिधिसभामा नेपाली काँग्रेस र एमाले तथा तीन प्रदेशमा काँग्रेस र एमालेको भिडन्त हुँदा एक प्रदेशमा माओवादी केन्द्र र एमालेका उम्मेदवार बीच कडा प्रतिस्पर्धा हुने देखिएको हो । 

निर्वाचनमा क्षेत्र नं १ मा प्रतिनिधि सभामा १२ उम्मेदवार प्रतिस्पर्धी रहे पनि काँग्रेसका जिल्ला सभापति राजु थापा र एमालेका गण्डकी प्रदेश सदस्य नारायणप्रसाद मरासिनीबीच कडा प्रतिस्पर्धा हुनेछ । दुई नेताबीच भेट तेस्रो हो भने एक पटक थापा र एक पटक मरासिनीले जित निकाल्नुभएको थियो । 

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा थापाले मरासिनीलाई एक हजार २८८ को मतान्तर हराउँदा २०७४ सालको संसदीय निर्वाचनमा वाम गठबन्धनबाट मरासिनीले थापालाई १० हजार ५६४ मतले हराउँदै संविधान सभाको निर्वाचनको बदला लिनुभएको थियो । दोस्रो संविधान सभा निर्वाचनमा मरासिनीले १५ हजार ४११ मत ल्याउँदा २०७४ सालको संसदीय निर्वाचनमा थापाले २८ हजार ६६२ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै प्रदेश क मा माओवादी केन्द्रकी स्थायी समिति सदस्य अमृता थापा र एमाले केन्द्रीय कमिटी सदस्य सीताकुमारी सुन्दासबीच कडा प्रतिस्पर्धा हुने भएको हो । प्रत्यक्ष निर्वाचनमा पहिलो पटक भिडन्तमा रहेका दुई महिला नेता मध्ये थापा दुई पटक समानुपातिकबाट सांसद बन्नुभएको छ भने सुन्दास जिल्ला समन्वय समितिको प्रमुख भएर अनुभव बटुल्नुभएको छ । 

प्रदेश खमा छ उम्मेदवार निर्वाचनमा होमिएको भए पनि काँग्रेसका बुद्धिबहादुर थापा कुमार र एमालेका सुधीरकुमार पौडेल बीच कडा टक्कर हुने देखिएको छ । कुमार पहिलो पटक चुनावमा होमिनुभएको हो भने पौडेल पाँच वर्ष आँधिखोला गाउँपालिकामा अध्यक्ष भएर काम गरेका अनुभव छ । 

यस्तै क्षेत्र नं २ मा काँग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्माकुमारी अर्यालबीच कडा टक्कर हुने देखिएको छ । ११ जना चुनावी मैदानमा रहे पनि दुई नेतामध्ये एक नेताले जित निकाल्ने पक्का जस्तै छ । 

दुई पटक समानुपातिक सांसद रहनुभएका गुरुङ र तीन वर्ष सङ्घीय मन्त्री बन्नुभएकी अर्यालबीचको चुनावी भिडन्तलाई महत्त्वका साथ हेरिएको छ । अर्यालले गत सङ्घीय निर्वाचनमा काँग्रेसका नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई वाम गठबन्धनबाट अर्यालले तीन हजार ७१६ मतान्तर पराजित गर्नुभएको थियो भने श्रेष्ठले ३१ हजार ४३६ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै प्रदेश कमा पहिलो पटक चुनावी मैदानमा रहनुभएका काँग्रेसका भोजराज अर्याल र पाँच वर्ष प्रदेशको अनुभव बटुल्नुभएका एमालेका मोहन रेग्मी बीच प्रतिस्पर्धा छ । प्रदेश खमा पहिलो पटक चुनावी मैदानमा रहनुभएका एमालेका डा. बुद्धिमान श्रेष्ठ र काँग्रेसका महेश भट्टराईसगँ प्रतिस्पर्धा हुनेछ ।

स्थानीय तह निर्वाचनको वडा अध्यक्षको मत हेदा दुई क्षेत्र र चार प्रदेशमै सत्ता गठबन्धन मत अगाडि छ । क्षेत्र नं १ मा दुई हजार ९२३ मतले सत्ता गठबन्धन अगाडि रहँदा प्रदेश कमा एक हजार ९२२ र खमा एक हजार एक मतले अगाडि रहेको छ । यस्तै क्षेत्र नं २ मा एक हजार ९६९ मतले अगाडि रहँदा कमा ५४३ र खमा एक हजार चारसय २६ मतले सत्ता गठबन्धन अगाडि छ । 

स्याङ्जाको निर्वाचनमा मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन र एमालेले आ आफ्नो जित हुने दाबी गरेका छन् । सत्ता गठबन्धन माओवादी केन्द्रका इन्चार्ज शैलेन्द्र घिमिरेले एमाले क्लिन स्विप हुने बताउनुभयो । उहाँले २०७४ मा एमालेले माओवादी केन्द्रका भोटले जितेको र अहिले काँग्रेससहितको सत्ता गठबन्धन रहेकोले निर्वाचन औपचारिकतामा मात्र रहेको दाबी गर्नुभयो । 

यस्तै एमाले अध्यक्ष सूर्यप्रसाद गैरेले पछिल्लो क्रममा गठबन्धनले गरेको कामले जनता दिक्दार भएकाले एमाले उम्मेदवारको जित हुने दाबी गर्नुभयो ।

Author

अर्जुन काफ्ले