• ४ वैशाख २०८१, मङ्गलबार

कालिकोट

स्वतन्त्र उम्मेदवारले गठबन्धनलाई डर, एमालेलाई भर

blog

प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा गठबन्धनबाट महेन्द्रबहादुर शाही, एमालेबाट नगीन्द्र शाही र स्वतन्त्रबाट काशचन्द बराल । तस्वीरः प्रेमराज सिम्खडा

कालिकोट कात्तिक २७ गते । मङ्सिर–४ मा हुने प्रतिनिधि सभा सदस्यका लागि कालिकोटमा सात जना उम्मेदवार चुनावी मैदानमा छन् । सात जनामा मुख्य प्रतिस्पर्धा बाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)बिच नै हुने देखिएको छ । सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका नेता एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने एमालेका तर्फबाट केन्द्रीय सदस्य नगीन्द्र शाही उम्मेदवार बन्नुभएको छ । 

दुई समूह बिचको तीव्र प्रतिस्पर्धा हुने पूर्वानुमान गरिएको यो चुनावमा माओवादी केन्द्रका नेता काश चन्द बरालको स्वतन्त्र उम्मेदवारीले चुनावी प्रतिस्पर्धा निकै रोचक बनिरहेको छ । रास्कोट नगरपालिका पुर्व मेयर बरालले माओवादी अध्यक्ष प्रचण्डसँगको संवाद परिणाममुखी नभएको भन्दै गत असोज २३ गते स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभयो । बरालका अनुसार आफूलाई उम्मेदवारी फिर्ताका लागि अध्यक्ष प्रचण्डले तत्काल कालिकोट पार्टी इन्चार्ज देखि अगामी राज्यका कुनै पनि निकायमा राजदूत, संवैधानिक निकायको जिम्मेवारी दिने सम्म भन्नुभयो । तर पनि आफू उदारो सम्झौतामा सहमत नभएको भन्दै निरन्तर अगाडी बढ्ने जवाफ दिएपछि फोन आउन छोडेको सुनाउनुभयो । 

सङ्घमा तीन जना बिच अहिले आ–आफ्ना चुनावी प्रचार तीव्र पारिएको छ । सत्ता गठबन्धन दल र एमाले समूह सहितको प्रचारमा जुटेका छन् भने स्वतन्त्र उम्मेदवार बराल सानो समूहमा सबै बस्तीमा पुगेर भोट मागिरहनु भएको छ । बरालको प्रचारले सत्ता गठबन्धन त्रासमा छ । एकै पृष्ठभूमिका नेता बिचको प्रतिस्पर्धाका कारणले एमाले उम्मेदवार नगीन्द्र शाही उत्साहित हुनहुन्छ । एमाले उम्मेदवार नगीन्द्र शाहीले एमालेका मतदाता एकलौटी हुने, माओवादीका केही मत आफूलाई आउने र केही काशीचन्द्र बरालले काट्ने भएकाले आफू विजयी हुने बताउँदै आउनु भएको छ । उहाँले आफू कालिकोटका लागि युवा मात्र होइन, हरेक दुख सुखमा सधैँ सँगै रहेकाले पार्टी भन्दा पनि कालिकोटको न्यायका लागि मत पाउने दाबी गर्नुभयो ।  

उहाँले मन्त्री र मुख्यमन्त्री भएका माओवादी केन्द्रका नेता महेन्द्रवहादुर शाहीले काम गर्न नसकेको प्रशस्त उदाहरण देखि गत २०७४ को चुनावमा आफै चुनावी कमान्डर भएर जिताएकाले पनि आफूलाई माओवादी कार्यकर्ता कै आन्तरिक समर्थन रहेको एमाले नेता शाहीको भनाई छ । उता सत्ता गठबन्धनका नेता बरालकै डरले मोर्चा बलियो बनाउनु पर्ने अभियानमा छन् । त्यही डरकै कारणले सत्तारुढ गठबन्धनले केन्द्रीय नेताहरूको कालिकोट प्रति जिम्मेवार रहेको देखाउन गत मङ्गलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई बोलाएर चुनावी सभा गरेको छ ।

प्रचण्ड र खड्कालाई उपस्थित गराएर एकै दिन जिल्लामा दुई ठाउँमा चुनावी सभा गरिएको थियो । प्रदेश सभा (क) को मान्म र (ख) को रास्कोटमा आयोजित चुनावी सभामा नेताद्वयले आश्वासन युक्त मन्तव्य मात्र दिएन कालिकोटका तिनै जना उम्मेदवार आगामी सरकारका मन्त्री हुने समेत बताएका थिए । माओवादी नेता तथा प्रतिनिधि सभाका उम्मेदवार मेहन्द्रवहादुर शाहीले आफू एकल भए पनि जित पक्का भएको भन्दै काँग्रेसको साथले झन् बलियो भएको दाबी गर्नुभयो । 

उहाँले २०७० मा माओवादी विभाजन भएका बेला समेत आफूले चुनाव जितेको भन्दै यसपालि ४९ वडा अध्यक्ष ६ स्थानीय तह जितेको आफ्नो पार्टी एकल काफी भएको बताउनुहुन्छ । त्यसको इन्काउन्टर लागि एमालेले पनि यही २७ गते अध्यक्ष केपी शर्मा ओलीलाई उपस्थित गराएर चुनावी सभा गर्ने कार्यक्रम तय गरेको छ । नगीन्द्र शाहीको गृह पालीका रास्कोट नगरपालिकालाई केन्द्रित गरी अध्यक्ष ओलीलाई उर्तान एमालेले योजना बनाएको छ । 

त्यसो हुँदा गृह नगरका मत एकलौटी भएमा चुनाव जित्न सहज हुने एमाले नेताहरूको भनाई छ । नगीन्द्र शाहीको प्रचार टोलीमा एमालेका नेता कार्यकर्ता छन् भने महेन्द्र बहादुर शाहीसँग माओवादी कार्यकर्ताका साथै यसअघिको प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका केही कार्यकर्ता पनि सहभागी छन् । तर स्वतन्त्र उम्मेदवार बरालले माओवादी भित्र जिल्ला भर तल्लो तहको कार्यकर्तामा तीव्र असन्तुष्टि भएकाले मत आफूलाई आउने दाबी गर्नु हुन्छ । उहाँले माओवादी भित्रको एकलौटी महेन्द्रको ठेक्का हुनुहुँदैन भन्ने नेताहरूले अन्तिममा आफूलाई समर्थन गर्ने र एमाले भित्रका पनि जाती गत मत आफूलाई आउने भएकाले आफ्नो जित पक्का भएको बताउनुहुन्छ । तर अहिलेको चुनावी प्रचारलाई हेर्दा मुख्य प्रतिस्पर्धी बराल भन्दा पनि सत्ता गठबन्धनको एमाले देखिएको छ । 

Author

प्रेमराज सिम्खडा