• ७ वैशाख २०८१, शुक्रबार

पूर्ववनमन्त्रीबीच प्रतिस्पर्धा

blog

सूर्यप्रसाद पाण्डे/अमरराज नहर्की

दमौली (तनहुँ), कात्तिक २७ गते । तनहुँ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि १० जना उम्मेदवारबीच प्रतिस्पर्धा छ । तर, निर्वाचनको परिणाम हात पार्ने सम्भावित दुई जना उम्मेदवारबीच भने रोचक प्रसङ्ग छ । उहाँहरू हुनुहुन्छ, वाम तथा लोकतान्त्रिक गठबन्धनको समर्थनमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट उम्मेदवारी दिनुभएका किरण गुरुङ । उहाँहरू दुवै जना सङ्घीय सरकारका पूर्ववनमन्त्री हुनुहुन्छ । 

मतदाताबीच दुवै जना लोकप्रिय मानिनुहुन्छ । गुरुङ २०७४ सालको निर्वाचनमा प्रदेशबाट प्रतिस्पर्धा गरेर निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेश सरकारको अर्थमन्त्रीसमेत बन्नुभएको थियो । भण्डारी भने सोही निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टीका केदार सिग्देलसँग तीन हजार २७९ मतले पराजित हुनुभएको थियो । २०७४ सालको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी)बीच चुनावी एकता भएकाले आफूले पराजय बेहोर्नु परे पनि यस पटक भने सजिलै जित्ने भण्डारीको दाबी छ । एमालेका उम्मेदवार गुरुङ पनि यस क्षेत्रमा पहिलादेखि एमालेको वर्चस्व रहेको र आफूले उक्त क्षेत्रको विकासका लागि प्रशस्तै काम गरेकाले सजिलै जित हाँसिल गर्नेमा ढुक्क हुनुहुन्छ । कांग्रेस तनहुँ जिल्ला कमिटीका सदस्य डम्बर अधिकारीले शङ्कर भण्डारीले वनमन्त्री हुँदा राजधानी र तराई जोड्ने फास्ट ट्र्याक जोड्न लामो समयदेखि रहेको वनको समस्या समाधान गरेको, सडक निर्माणलगायतका विकासका थुप्रै काम गरेकाले सहजै जित्ने बताउनुभयो । 

एमाले जिल्ला समितिका सदस्य हरिराज कँडेलले भने जनताले आफ्नो पार्टीका उम्मेदवारलाई जिताउने दाबी गर्नुभयो । आफ्नो पार्टी सरकारमा हुँदा जिल्लामा विकास निर्माणका थुप्रै कामहरू गरेकाले पनि जनताले रुचाउने उहाँले दाबी गर्नुभयो । तनहुँ जिल्लामा १० वटा स्थानीय तह छन् । जसमध्ये शुक्लागण्डकी, म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिका यहि क्षेत्रमा पर्छ । त्यसबाहेक भिमाद नगरपालिका तथा व्यास नगरपालिकाको ५ र ६ वडा पनि यही निर्वाचन क्षेत्रमा पर्छ । तीमध्ये स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले शुक्लागण्डकी र ऋषिङ गाउँपालिका तथा व्यास गाउँपालिकामा प्रमुख जितेको थियो । एमालेले म्याग्दे तथा घिरिङ गाउँपालिका र भिमाद नगरपालिकामा एमालेले प्रमुख जितेको थियो ।  

मलुक सङ्घीय संरचनामा जानुअघि तनहुँमा तीनवटा निर्वाचन क्षेत्र थियो । त्यतिखेर निर्वाच क्षेत्र नं. १ र २ मा २०४८ सालदेखि (२०६४ सालबाहेक) नेपाली कांग्रेसले जित्दै आएको थियो । क्षेत्र नं. ३ मा भने २०४८ सालदेखि २०७४ सालसम्मकै निर्वाचनमा एमालेले जित्दै आएको छ । यस क्षेत्रमा २०५१ सालको मध्यावधि निर्वाचनमा मात्रै नेपाली कांग्रेसका उम्मेदवार अम्मरराज कैनीले जित्नुभएको थियो । त्यतिखेर उहाँले एमालेका उम्मेदवार टुकराज सिग्देललाई पराजित गर्नुभएको थियो ।