• ८ वैशाख २०८१, शनिबार

दस महिनामा पनि सञ्चालन भएन मिरगञ्ज पुल

पच्चीस प्रतिशत आयात निर्यात प्रभावित

blog

नवराज कट्टेल

विराटनगर, कात्तिक २७ गते । गत पुस २२ गते भारतको मिरगञ्जस्थित प्रमाणा नदीको पुल भासिएर सवारीसाधन आवतजावत रोकियो । त्यसपछि विराटनगरको भन्सार नाकाबाट आवातजावत गर्ने मालवाहक सवारीसाधन लामो दूरी पार गरेर नेपाल भित्रिनुपर्ने बाध्यता सिर्जना भयो । १० महिना बितिसक्दा पनि यो समस्या समाधान हुन सकेको छैन ।

विराटनगर भन्सार कार्यालयदेखि छ किलोमिटर दक्षिण भारतीय भूमिमा रहेको यो पुल भासिएपछि ११६ किलोमिटर रि–रुट हुँदै सुनसरीको भन्टाबारी नाकाबाट मालवस्तु आयात निर्यात हुँदै आएको छ । साबिक स्थानमै भारतले नयाँ आरसीसी पुल निर्माण गरिसकेको छ । नयाँ पुल सञ्चालनमा भने भारतले अहिलेसम्म चासो दिएको छैन । 

मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष एवं उद्योगी पवनकुमार शारडाले पछिल्लो समय सञ्चालनको आश्वासन पाइरहेको बेला गुजरातमा पुल खसेपछि मिरगञ्जको नयाँ पुलको ‘इन्सेप्सन रिपोर्ट’ बुझाउनुपर्ने नयाँ नियम लगाइएको छ । त्यसले गर्दा सञ्चालनको प्रक्रिया अझै बढ्न सक्ने सम्भावना देखिएको उद्योगी शारडाले बताउनुभयो । 

विराटनगर भन्सार कार्यालय नजिकैसम्म आएका मालवस्तु बोकेका सवारीसाधन रि–रुट भएर भन्टाबारी हुँदै पुनः भन्सार कार्यालयमा जाँचपास गराउनुपर्ने बाध्यताले राजस्व असुलीमा नराम्रो असर परेको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार १० महिनाको अवधिमा मात्रै राजस्व असुलीमा १८ अर्ब ७५ करोड रुपियाँले कमी आएको छ । विराटनगर भन्सार कार्यालयले पुल भासिनुअघि दैनिक १४ करोड ५० लाख रुपियाँ राजस्व असुली गर्दै आएको थियो । त्यसपछि दैनिक १० करोड रुपियाँमा झरेको विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा विराटनगर भन्सार कार्यालयको दैनिक १६ करोड ५० लाख राजस्व सङ्कलनको लक्ष्य छ ।

भन्सार नजिकैको पुल भासिएपछि त्यसले चोरी तस्करीलाई समेत बढावा दिएको व्यापारीको गुनासो छ । पछिल्लो समय मोरङको खुला सीमानाकाबाट हुने चोरी निकासी–पैठारी नियन्त्रणबाहिर रहेको भन्सार अधिकारी नै बताउने गरेका छन् ।यसका अतिरिक्त भारतसँगको उधारो व्यापार रोकिनु, अनिवार्य एलसीको प्रावधान आउनु, पुल भासिएपछि अन्य भन्सार नाकामा डाइभर्ट हुनुजस्ता कारणले राजस्व असुली प्रभावित भएको भन्सार अधिकारी बताउँछन् । 

भन्सार कार्यालयका प्रमुख सापकोटाले पुल भासिएपछि २५ प्रतिशत आयात–निर्यात प्रभावित भएको बताउनुभयो ।