• १२ वैशाख २०८१, बुधबार

देश बनाउने भिजन एमालेसँग मात्र छ : अध्यक्ष ओली

blog

कैलालीको अत्तरियामा शनिबार आयोजित नेकपा (एमाले) को चुनावी सभामा सम्बोधन गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओली । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

अत्तरिया (कैलाली), कात्तिक २६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्मा ओलीले देश बनाउने भिजन एमालेसँग मात्र भएकाले एमालेलेलाई बहुमत सरकार बनाउन मिल्नेगरी मतदान गर्न आह्वान गर्नुभएको छ । 

कैलालीको अत्तरियामा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आव्हान गर्नुभयो । बलियो र स्थायी सरकार बनाउन एमालेले जित्नु पर्ने धारणा उहाँले राख्नुभयो । उहाँले भन्नुभयो, “एक्लै एमालेसँग लड्न नसेकपछि कांग्रेस र माओवादी लगायतका दलको गठबन्धन बनेको छ । माओवादी त एमालेसँग एक्लै लड्न सक्दैनथ्यो, कांग्रेससँग पनि आँट देखिएन ।” 

“गठबन्धन जित्ने भन्छन् तर सबैका अलग अलग घोषणापत्र बनाएका छन्, केही गरेर चुनाव जितेमा कसको घोषणापत्र लागू गर्लान्” गठबन्धन दलको घोषणापत्र जनतालाई अलमल्याउने काम मात्र गर्ने उहाँले बताउनुभयो । 


अध्यक्ष ओलीले गठबन्धनले प्रधानमन्त्री कसलाई बनाउने हो भन्न नसकेको बताउनुभयो ।  देउवा, प्रचण्ड र गगनले आफै प्रधानमन्त्री भन्छन् कसलाई पो प्रधानमन्त्री बनाउने हुन् उहाँले टिप्पणी गर्नुभयो । 

मङ्सिर ४ गतेपछि नेकपा (एकीकृत समाजवादी) का नेता कार्यकर्ता एमालेमा आइसक्ने उहाँले दाबी गर्नुभयो । देशमा विकास हुन थालेपछि देशी विदेशी शक्ति लागेर आफू नेतृत्वको सरकार ढालेको उहाँले आरोप लगाउनुभयो । अध्यक्ष ओलीले थप्नुभयो, “चुनावमा गलत तरिकाले पैसा बाँड्नेका पैसा खाए हुन्छ, तर आफ्ना छोराछोरीको भविष्य सम्झेर एमालेलाई भोट हाल्नुपर्छ ।” अध्यक्ष ओलीले ४१ महिनामा आफ्नो सरकारले गरेका कामको विवरण पनि सुनाउनुभयो । 


एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पोलिट्ब्युराे सदस्य तथा कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार नारदमुनी राना, पोलिट्ब्युराे सदस्य लीला भण्डारी, प्रदेश सभा सदस्यका उम्मेदवारहरू कैलाली क्षेत्र नम्बर ४ ‘क’ का भीमबहादुर देउवा, ‘ख’ का हरिसिंह साउद, कैलाली क्षेत्र नम्बर ५ ‘क’ का नेपालु चौधरी, ‘ख’ का दुर्गाप्रसाद जोशी लगायतले बोल्नुभएको थियो ।