• १६ चैत २०८०, शुक्रबार

चुनाव अग्रगमन र प्रतिगमनको जनमत सङ्ग्रह जस्तै हो : अध्यक्ष दाहाल

blog

लोकतान्त्रिक–वाम गठबन्धन चितवनले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको चुनावीसभामा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहितका नेता । तस्बिर : शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, कात्तिक २६ गते । नेपाल (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्सिर ४ गते हुने निर्वाचनलाई अग्रगमनतर्फको यात्रा जारी राख्ने वा प्रतिगमनतर्फ फर्कने विषयको जनमत सङ्ग्रह जस्तै भएको बताउनुभएको छ ।

चितवनको भरतपुरमा शनिबार लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै दाहालले त्यस्तो बताउनुभएको हो । उहाँले वर्तमान गठबन्धन ठूलो मेहनतले सिर्जना भएको १२ बुँदे शान्ति सम्झौतादेखिको निरन्तरता भएको बताउनुभयो । 

उहाँले एमालेसँगको एकता र नेकपा बनाएको विषयमा वर्तमान सहयात्रीमा केही आशङ्का उब्जेको विषय उठाउँदै गठबन्धन निरन्तरता प्रतिगमनको खतरा रहँदासम्म जारी रहने प्रष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभयो, “यो गठबन्धन ठूलो मेहनतले बनाइएको १२ बुँदे शान्ति सम्झौतादेखिको निरन्तरता हो । आशङ्का मेटेर यो गठबन्धन बनाइको हो । जबसम्म प्रतिगमनको खतरा रहन्छ त्यो बेलासम्म गठबन्धन कायम रहन्छ । यो चुनाव अग्रगमन र प्रतिगमनको जनमत सङ्ग्रह जस्तै हो ।”

प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा दाहालले गठबन्धन बनेपछि प्रतिगमनको खतरा कम हुँदै आएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीसँगै सुदूरपश्चिम र पश्चिम नेपालका थुप्रै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने अवसर पाएको र गठबन्धनले बहुमत ल्याउने विषयमा कुनै शङ्का गरिरहनु नपर्ने दाबी गर्नुभयो । 

चितवन सधैँ प्रगति, न्याय, विकास र अग्रगमनको पक्षमा रहेको बताउँदै दाहालले यस पटकको निर्वाचनमा पनि चितवनका जनताले अग्रगमनको पक्षमा मतदान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

चितवनको निर्वाचन क्षेत्र नम्बर ३ लाई आफ्नै निर्वाचन क्षेत्रको रूपमा लिएको बताउँदै यस पटक गठबन्धन तर्फबाट उम्मेदवार बन्नुभएका डा. भोजराज अधिकारीलाई आफ्नो उत्तराधिकारीको संज्ञा दिनुभयो । आफू गोरखा जाँदै गर्दा घर चितवन मै भएको र चितवनको विकास प्रति चासो सदा रहने प्रतिबद्धता दाहालले व्यक्त गर्नुभएको छ । 

दाहालले भन्नुभयो, “चितवनको विकासप्रति मेरो चासो सदा रहनेछ । सुरु भएको विकासलाई मेरो पुरापुर समर्थन रहने छ । त्यसलाई पूर्णता दिने कुरामा म प्रतिबद्ध छु।”