• ७ वैशाख २०८१, शुक्रबार

डोटी भूकम्प पीडितहरू राहतको पर्खाइमा

blog

भूकम्पका कारण घरमा क्षति पुगेर बस्न नमिल्ने भएपछि बस्ने व्यवस्था मिलाउँदै डोटीको पूर्वीचौकी ५ उपकरकाँडा गाउँका स्थानीय । तस्बिर : डिलबहादुर सिंह

डिलबहादुर सिंह

पूर्वीचौकी (डोटी), कात्तिक २६ गते । डोटीको पूर्वीचौकी –५ उपरकाँडा गाउँका ६३ बर्षीया लालवीर साउँद विगत १५ वर्षदेखि दम रोगबाट पीडित हुनुहुन्छ । सामान्य चिसोले लागेमा  श्वास प्रश्वासमा समस्या हुने साउँद भूकम्पले घर चर्किएर बस्न नमिल्ने भएपछि परालले छोएको चिसो कटेरोमा रात बिताउँदै आउनुभएको छ । 

तीन दिनसम्म कुनै प्रकारको राहत र आश्वासन समेत नपाएपछि स्थानीय जङ्गलबाट निगालो र काठ काटेर टहरा बनाउँदै गरेको अवस्थामा भेटिनुभएका साउँदले भन्नुभयो– ‘भूकम्पको झट्का रोकिएको छैन, चिसोले स्वास्थ्यमा समस्या आइसक्यो, रोहत आएको छैन ।”

साउँदजस्तै उपरकाँडा गाउँका २५ भन्दा बढी घरपरिवार भूकम्पले घरमा चिरा परेपछि घरबाहिर चिसोमा रात बिताउन बाध्य हुनुहुन्छ । भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा –३ गैरागाउँमा ६ जनाको ज्यान गएको छ । पाँच जना स्थानीय घाइते हुनुभएको छ । 


गैरागाउँमा सरकारी र गैरसरकारी क्षेत्रबाट तत्कालीन राहत र उद्धारको काम गरिएको भए पनि छिमेकी सायल गाउँपालिका र पूर्वीचौकी गाउँपालिकाकै अन्य वडामा भूकम्पका कारण घर चर्किएपछि आगोकै भरमा स्थानीयहरू रात काट्न बाध्य हुनुभएको छ । चिसोमा घरबाहिर बस्नुपर्दा बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी समस्या भएको पीडितको भनाइ छ । 

डोटीको सायल गाउँपालिका –३ बेटारा गाउँका स्थानीय रोशन विष्टले भन्नुभयो, ‘घर चर्किएर बाहिरबाट घरभित्र प्रष्ट देखिने भएको छ । भित्र बस्न लायक छैन । बालबालिका र दीर्घरोगीहरुलाई समस्या भएको छ ।’

जिल्लाका स्थानीय तहहरूले भूकम्पका कारण भएको भौतिक क्षतिको यकिन विवरण सङ्कलन गर्न भइरहेको बताएका छन् । डोटीको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीका अनुसार वडास्तरवाट क्षतिको विवरण सङ्कलन कार्य भइरहेको छ । अध्यक्ष जोशीले भन्नुभयो, “पालिकाभित्रका ९० प्रतिशत घरहरू चर्किएका छन् । पूर्ण क्षतिको विवरण वडा स्तरबाट प्राप्त भएपछि के गर्ने भन्ने निक्र्यौलमा पुग्नेछौँ ।” 

सरकारीस्तरबाट डोटीको पूर्वीचौकी –३ गैरागाउँमा पूर्ण क्षति भएका १८ घर क्षति भएका अन्य १२ घरहरूमा तत्कालीन रूपमा राहत उपलब्ध गराइएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो, ‘सायल, आदर्श र पूर्वीचौकी गाउँपालिकालाई भूकम्पका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरिएको छ । छिट्टै विवरण आउँछ ।’


गत बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । घरको कमजोर बनावटका कारण पनि भूकम्पका कारण खप्तड राष्ट्रिय निकुञ्जसँग जोडिएका डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाका विभिन्न गाउँपालिका बस्तीका घरमा क्षति पुगेको छ ।