• ८ वैशाख २०८१, शनिबार

शान्ति र समृद्धिका लागि गठबन्धन जित्नुपर्छ : प्रधानमन्त्री देउवा

blog

चितवनको भरतपुरमा आयोजित गठबन्धन दलको चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका नेताहरु । तस्बिर : अध्यक्ष दाहालको सचिवालय

वसन्त पराजुली 

भरतपुर, कात्तिक २६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले  शान्ति संवृद्धि र एकताबद्ध नेपालका लागि गठबन्धनको बहुमत सरकार जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनको आयोजनामा भरतपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो । गठबन्धनले जितेमा दुई–तीन कार्यकालसम्म दलहरुबीच सहकार्य हुने उहाँले बताउनुभयो । 

“हामी अहिलेको चुनाव जितेमा दुई–तीन वटा चुनावसम्म सहकार्य गरेर अगाडी बढ्छौ” उहाँले थप्नुभयो, “स्थायी शान्ति चाहिएको छ, सम्पन्न देश र जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न देश बनाइ रोजगारीको सिर्जना गर्नेछौँ ।”

गणतन्त्रको स्थायित्व गर्ने दायित्व पनि गठबन्धन दलहरूकै काँधमा भएको प्रधानमन्त्री देउवाले बताउनुभयो । संसद् विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले महाभूल गरेको उहाँले बताउनुभयो ।


दश वर्षअघि कारबाहीमा परेका कांग्रेसका तत्कालीन चितवन सभापति विकास कोइरालाको कारबाही फिर्ता गराउने उहाँले आश्वासन दिनुभयो । निर्वाचन सकिएसँगै कोइरालामाथिको कारबाही फिर्ता हुन्छ उहाँले भन्नुभयो ।  

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई शान्ति र सम्वृद्धितर्फ लैजानुपर्ने धारणा राख्नुभयो । “यो पटक अग्रगमन र प्रतिगमनविरुद्धको लडाइँ हुदैछ । मलाई विश्वास छ । यो नेपाली जनता अग्रगमनका पक्षमा उभिने छन् ।” 

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष केशवलाल श्रेष्ठले मुलुक अस्थिरतातर्फ लैजाने दृढताविरुद्धमा गठबन्धन भएकाले यसैका पक्षमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रष्मीराज नेपालीले राष्ट्रियताका पक्षमा उभिने उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । 


यसैबीच प्रधानमन्त्री देउवाले आजै कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई समवेदना प्रकट गर्नुभयो । श्रीमती शिरमाया गुरुङको शोकमा रहनुभएका केन्द्रीय सदस्य गुरुङलाई प्रधानमन्त्री देउवाले चितवनस्थित घरमै पुगेर समवेदना प्रकट गर्नुभयो ।

यो पनि पढ्नुहोस

विमानस्थलबाट चितवन झरेलगत्तै उहाँ गुरुङ निवास पुग्नुभएको थियो । त्यहाँ रहेको शोकपुस्तिकामा पनि उहाँले हस्ताक्षर गर्नुभयो । गुरुङ परिवारलाई समवेदना दिन प्रधानमन्त्रीसँगै माओवादी अध्यक्ष प्रचण्ड पनि पुग्नुभएको थियो ।