• १२ वैशाख २०८१, बुधबार

बाजुरामा पाण्डे र थापाको प्रतिस्पर्धा

blog

नेकपा (एमाले) का कर्णबहादुर थापा र नेपाली कांग्रेसका बद्री पाण्डे। फाइल तस्बिर

शेरबहादुर सार्की

बाजुरा, कात्तिक २६ गते। बाजुरामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सहमहामन्त्री बद्री पाण्डे र नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिनिधिसभा सदस्यमा पाँच जना उम्मेदवार रहेको यो क्षेत्रमा गठबन्धनका तर्फबाट पाण्डे र एमालेका थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो।

२०५६, २०६४ र २०७० सालमा चुनावी मैदानमा आउनुभएका थापा २०७० सालको निर्वाचनमा मात्र विजयी हुनु भएको थियो। थापा नेपाली कांग्रेसका मानबहादुर रावललाई पराजित गर्दै विजयी हुनुभएको हो। नेपाली कांग्रेसका पाण्डे संविधानसभा सदस्य तथा राष्ट्रियसभा सदस्य भइसक्नु भएको छ। 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बाजुरामा नेपाली कांग्रेस ६ र नेकपा एमालेले तीन स्थानीय तह विजयी भएका छन्। प्रतिनिधिसभा सदस्यमा एमालेका लालबहादुर थापा विजयी हुनभयो।

थापाले नेपाली कांग्रेसका कविराज पण्डितलाई चार हजार ८८४ मतले हराउनु भएको थियो। २०७४ सालको निर्वाचनमा थापाको २८ हजार ६५ र कांग्रेसका कविराज पण्डितको २३ हजार १८१ मत थियो। २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमाले ६ र कांग्रेसले तीन स्थानीय तहमा विजयी भएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका जङ्गकुमार गिरी, जनसमाजवादी पार्टीका रामबहादुर साही र स्वतन्त्रबाट टेकबहादुर बडुवाल पनि प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्नुभएको छ। बाजुरा जिल्लामा ४० हजार ८३८ महिला, ४२ हजार ७२७ पुरुष गरेर गरेर कुल ८३ हजार ५६७ मतदाता रहेका छन्। 

बाजुरामा प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचनका लागि ७० मतदान स्थलमा ११२ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।