पर्सा वन्यजन्तु आरक्ष निकुञ्ज घोषणा

लक्ष्मीप्रसाद उपाध्याय

 

काठमाडौँ, भदौ २ गते । नेपालका रैथाने जङ्गली हात्तीको संरक्षण गर्ने उद्देश्यसहित पर्सा वन्यजन्तु आरक्षलाई सरकारले राष्ट्रिय निकुञ्ज घोषणा गरेको छ । यहाँ रैथाने जङ्गली हात्ती, बाघ, एकसिङे गैँडा, गौरी गाईलगायत वन्यजन्तुको संरक्षण हुँदै आएको थियो । अब यो १२औँ निकुञ्ज भएको छ ।
बारा, पर्सा र मकवानपुर जिल्लामा फैलिएको ६२७ वर्ग किलोमिटर क्षेत्रफल भएको यो निकुञ्जमा विशेष गरी पछिल्लो समयमा रैथाने हात्तीका साथै पाटेबाघका लागि उपयुक्त बासस्थानका रूपमा विकसित हुँदै आएको छ ।
तराई, चुरे तथा शिवालिक क्षेत्रमा विद्यमान जैविक विविधताको थप संरक्षण र व्यवस्थापन गरी पर्यापर्यटनको माध्यमबाट स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले निकुञ्ज घोषणा गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताउनुभयो ।
दुर्लभ वन्यजन्तुको संरक्षण गर्दै पर्यापर्यटनको विकासका लागि २०७२ सालमा १२८ वर्गकिलोमिटर क्षेत्रफल विस्तारसमेत गरिएको थियो भने संरक्षणमा समुदायलाई प्रत्यक्ष सहभागी गराउन २०६२ सालमा २८६ वर्गकिलोमिटर क्षेत्रफललाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो ।
निकुञ्जभित्र ६० देखि ६५ वटासम्म जङ्गली हात्ती छन् भने एकसिङे गैँडा पाँचवटा, गौरी गाई १०५ भन्दा बढी, ३२ प्रजातिका स्तनधारी वन्यजन्तु, ३७० प्रजातिका चराचुरुङ्गी, ३१ प्रजातिका पुतली पाइने गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।
राजधानीबाट सबैभन्दा नजिक रहेको पर्सा राष्ट्रिय निकुञ्जको पर्यापर्यटनको सम्भावना निकै बढी रहेको पर्यटनविद् मनोज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ तराई द्रुत मार्ग, निजगढको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा तराई रेलमार्ग, हुलाकी सडक लगायतका पूर्वाधार निर्माण भएपछि चितवनभन्दा पनि बढी स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र पर्सा बन्नसक्ने सम्भावना निकै छ ।
विशेष गरी रैथाने जङ्गली हात्ती, पाटे बाघ, गौरी गाई र अनेकौँ प्रजातिका चराचुरुङ्गीको सहज अवलोकनका लागि यो निकुञ्ज पर्यटकहरूले मन पराउनसक्ने अनुमान पर्यटन व्यवसायीहरूको छ ।
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर गर्ने लक्ष्यलाई प्राप्त गर्नका लागि पनि यो निकुञ्ज निकै महŒवपूर्ण भएको प्रमुख संरक्षण अधिकृत आचार्यले बताउनुभयो । यो निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भइरहेको छ ।
पाटे बाघ, एकसिङे गैँडा लगायतका दुर्लभ वन्यजन्तुको चोरी सिकार नेपालका अन्य संरक्षित क्षेत्रभन्दा यो निकुञ्जबाट कम हुने गरेको पाइएको छ ।
हाल नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा आरक्ष कार्यालय, एउटा सिकार आरक्ष र छवटा संरक्षित क्षेत्रमार्फत संसारमै दुर्लभ मानिएका वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको संरक्षण हुँदै आएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds