• १२ वैशाख २०८१, बुधबार

प्रधानमन्त्री देउवाद्वारा सापकोटाको निधनमा दुःख प्रकट

blog

नवलपरासीको गैँडाकोट–८ स्थित निवासमा पुगेर स्वर्गीय प्रजातन्त्र सेनानी तिलकप्रसाद सापकोटाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : राजु चापागाईँ/रासस

चितवन, कात्तिक २६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व. तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गर्नुभएको छ । यही कात्तिक २३ गते निधन हुनुभएका उहाँको परिवारजनमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गैँडाकोटस्थित सापकोटा निवास पुग्नुभएको हो ।

नेपाली कांग्रेसको राजनीतिमा स्व. सापकोटाले पुर्‍याउनुभएको योगदानप्रति आभार प्रकट गर्दै उहाँको निधनले समग्र पार्टीमा ठूलो क्षति पुगेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

सापकोटाद्वारा प्रकाशित पुस्तकमा नवलपरासीको गैँडाकोटलाई आत्मनिर्भर, उद्यमशील र प्राकृतिक स्रोत साधनका हिसाबमा हराभरा बनाउनमा सापकोटाको योगदान जति उल्लेखनीय छ, त्यत्तिकै युवा सशक्तीकरण, जनचेतना र शैक्षिक प्रवर्द्धनका दृष्टिमा पनि अतुलनीय उहाँले सो पुस्तकमा लेख्नुभएको लेखमा चर्चा  गर्नुभएको छ ।

सो अवसरमा कांग्रेसका नेता प्रा. डा. शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कँडेल, नेपाली कांग्रेस नवलपरासीका सभापति महेन्द्रध्वज जिसीलगायतको उपस्थिति थियो । गैँडाकोट नगरपालिका–८ का स्थायी बासिन्दा सापकोटा राजनीति र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाको अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो । विसं २००१ माघ १७ गते बाग्लुङको दमेकमा जन्मिनुभएका उहाँ नवलपरासीमा नेपाली कांग्रेसका अग्रज नेताका रूपमा चिनिनुहुन्थ्यो । सापकोटा दम रोगबाट  ग्रसित हुनुहुन्थ्यो ।