• १६ चैत २०८०, शुक्रबार

हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो : अध्यक्ष दाहाल

blog

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

गोरखा, कात्तिक २६ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताउनुभएको छ ।

चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहनुभएका उहाँले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हँसिया हथौडा र हँसिया हथौडाले रुखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताउनुभएको हो ।

अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र सविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि दुबै दल मिलेर नै  गर्न सहज  हुने बताउनुभयो । “राजनीतिक परिवर्तन भयो, तर जनताले अनुभूति गर्ने गरी आर्थिक समृद्धि हुनसकेन”, उहाँले भन्नुभयो, “अब राजनीतिक परिवर्तनको रक्षा र आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने हामी गठबन्धनका नेताले गहनरुपले अनुभूति गरिसकेका छौँ ।”

अध्यक्ष दाहालले  लामो समयदेखि बन्द रहेको पालुङटार एयरपोर्ट भिन्नरूपमा सञ्चालन गर्ने आफ्नो योजना  रहेको बताउनुभयो । “चुनाव अगाडि पुनः सञ्चालन गर्ने भन्ने नै थियो”, उहाँले भन्नुभयो, “निर्वाचनअघि आचारसंहिता लाग्ने भएकाले अब निर्वाचन सकिनेबित्तिकै नयाँ ढङ्गबाट पहल सुरु हुन्छ ।” उहाँले एयरपोर्ट सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणसँग आफूले छलफल गरिसकेको जानकारी पनि दिनुभयो ।