• ७ वैशाख २०८१, शुक्रबार

प्रदेशस्तरीय सुरक्षा बैठक

हिमाली जिल्लाका मतपेटिका सङ्कलनमा चुनौती

blog

रमेश पौडेल

पोखरा, कात्तिक २६ गते । गण्डकीका केही जिल्लामा भौगोलिक विकटताका कारण मतपेटिका सङ्कलनमा चुनौती देखिन सक्ने सुरक्षा बैठकमा औँल्याइएको छ । गृह मन्त्रालय तथा गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयद्वारा पोखरामा आयोजित संयुक्त सुरक्षा गोष्ठीमा सो कुराको जानकारी दिइएको हो । 

गण्डकी प्रदेशका ११ जिल्लामध्ये हिमालपारिका जिल्लाहरू मनाङ र मुस्ताङ तथा गोरखा र म्याग्दीको माथिल्लो भेगमा हिमपातको सम्भावनासँगै भौगोलिक विकटताले मतपेटिका सङ्कलनमा जोखिम रहेकाले संवेदनशील बन्नुपर्ने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका हुन् । 

उहाँहरूले जोखिम कम गर्न यातायात मात्र नभई हेलिकोप्टरसमेत आवश्यक पर्ने बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनलाई भयरहित बनाउन प्रदेशको सुरक्षा व्यवस्था मजबुत रहेको बताउनुभयो ।

उहाँले कुनै ठाउँ भौगोलिक विकटताका कारण गण्डकीका केही मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिनुभयो । विभिन्न ठाउँको सीमानाका अवलोकन गरेर फर्किएको जानकारी दिँंदै उहाँले जिल्लास्तरमा पनि सुरक्षा व्यवस्थाबारे मजबुत बनाउनेबारे छलफल भइसकेको बताउनुभयो । 

प्रदेश गृहमन्त्री डोबाटे विकले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सङ्घसहित प्रदेश सरकारले पनि सुरक्षा व्यवस्था सोही अनुरूप मिलाएको बताउनुभयो । उहाँले मातहतका सुरक्षा निकायलाई निर्वाचन शान्त र सुरक्षित बनाउन निर्देशनसमेत दिनुभयो ।

सङ्घीय सरकारका गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन कसैसँग पनि सम्झौता नगर्न निर्देशन दिनुभयो । उहाँले निर्वाचन सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गोष्ठीमा प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो । गोष्ठीमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिल्लाको सुरक्षा चुनौतीको बारेमा जानकारी दिनुभएको थियो । 

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले चुनाव बहिष्कार गर्ने समूहका गतिविधिप्रति सरकार सचेत र गम्भीर रहेको बताउनुभयो । उहाँका अनुसार कास्कीमा कुल १५० मतदान स्थल रहेकोमा ५० वटा अति संवेदनशील रहेका छन् । यस्तै संवेदनशील ४० र सामान्य ५१ वटा मतदान स्थल छन् ।

चुनावमा गण्डकीका ५५९ वटा मतदान केन्द्र अति संवेदनशील रहेका छन् । प्रदेशका ११ जिल्लाका एक हजार २८३ मतदान स्थलमध्ये दुई हजार ३३९ वटा मतदान केन्द्र छन् । दुई हजार ३३९ मतदान केन्द्रमध्ये अति संवेदनशील ५५९ वटा र ९४५ वटा संवेदनशील छन् । यस्तै ८३५ वटा मतदान केन्द्र सामान्य छन् । 

गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीका अनुसार निर्वाचन सुरक्षामा नेपाल प्रहरीतर्फ छ हजार ६८६ जना, म्यादी प्रहरी १२ हजार ४६४ जना, सशस्त्र प्रहरी बल तीन हजार २४३ जना खटिएका छन् । नेपाली सेना चार हजार ५१२ जना खटिनेछन् । 

निर्वाचन सुरक्षा चुनौती तथा विभिन्न समूहका अवाञ्छित गतिविधि, आचारसंहिताको उल्लङ्घन, सामाजिक सञ्जालको दुरुपयोग, खुला सीमाका कारण साना हातहतियार, लागूूऔषध ओसारपसार, हिमाली भेगमा सम्भावित हिमपात, सञ्चार सम्पर्क विच्छेद, दल तथा उम्मेदवारको अस्वस्थ प्रतिस्पर्धा, भौगोलिक विकटताका कारण मतपेटिका ढुवानीमा कठिनाइलगायत विषयमा पनि छलफल भएको छ । 

गण्डकीमा प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ १९६ जना उम्मेदवार छन् । तीमध्ये २२ जना महिला र १७४ जना पुरुष उम्मेदवार प्रतिस्पर्धामा छन् । यस्तै प्रदेश सभातर्फ २३५ मध्ये महिला २९ र पुरुष २०६ उम्मेदवार चुनावी मैदानमा छन् ।