• १६ चैत २०८०, शुक्रबार

नाटकबाट टाढिएको छैन

blog

कम्प्युटर सिक्न भनेर काठमाडौँ छिर्नुभएका रङ्गकर्मी कमलमणि नेपालले राष्ट्रिय नाचघरबाट एक्टिङको कक्षा सुरु गर्नुभएको हो। एक्टिङकै सिलसिलामा उहाँको भेट रङ्गकर्मी सुनिल पोखरेलसँग भएको थियो। त्यसपछि उहाँ गुरुकुलसँग जोडिन पुग्नुभयो। टेलिसिरियल ‘भद्रगोल’मा ‘खुपीका बाउ’ भनेर दर्शकले चिन्न थाले। केही नेपाली र बलिउड चलचित्र ‘इन्डियाज मोस्ट वान्टेड’मा समेत अभिनय गर्नुभएका नेपालसँग रङ्गमञ्च र चलचित्रमा आधारित रहेर गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :  

 तपाईंको कलाकारिता यात्रा कसरी सुरु भयो ?

म मोरङमा जन्मिएको भए पनि कर्मक्षेत्र बनाउन र कम्प्युटर सिक्न काठमाडौँ आएँ। नाचघरमा एक्टिङको कक्षा सुरु गरेँ। त्यही क्रममा वीरेन्द्र हमालसँग काम गर्ने मौका पाएँ। एक्टिङकै सिलसिलामा मेरो भेट रङ्गकर्मी सुनिल पोखरेलसँग भयो। त्यसपछि गुरुकुलमा जोडिन पुगेँ र निरन्तर १२ वर्ष काम गरेँ। त्यस क्रममा झन्डै दुई दर्जन नाटकमा अभिनय गरेँ होला। गुरुकुल बन्द भएपछि हास्य टेलिसिरियल ‘भद्रगोल’मा छिरियो। ‘भद्रगोल’बाट ‘खुपीका बाउ’ भनेर दर्शकले चिन्न थाले। त्यसपछि कमलमणि हरायो। पछिल्लो समय ‘खुपीका बाउ’ एउटा ठाउँमा छ तर कमलमणि पनि छ है भनेर नेपाली चलचित्रमा काम गर्छु। अहिले ‘सक्किगोनी’मा काम गरिरहेको छु। 

नाटक र चलचित्रमा जम्न नसकेर टेलिफिल्ममा लागेको हो ?

गुरुकुल बन्द हुनेबित्तिकै मसँग विकल्प थिएन। चलचित्रतिर पनि सिधै जान सक्ने अवस्था थिएन। फेरि मलाई कसैले लिन्छ लिँदैन भन्ने खालको कुरा पनि हो। नाटकमा काम गरिरहेका मान्छे त्यति परिचित पनि हुँदैनन्। कसैले थिएटरमै गएर हे¥यो भने उसले यसले काम गर्न सक्छ भन्ला तर सबैलाई 

विश्वास दिलाउन सकिन्न। गुरुकुल फ्याटै बन्द भएका बेला घर फर्किनुभन्दा केही न केही काम गर्दै छु भन्नका लागि सिरियल पनि एउटा कलाकारिताको पाटो भएकाले त्यसलाई बुझेको मात्र हो। म नाटक र चलचित्र चलेन भनेर टेलिसिरियलतिर गएको होइन। म नाटकबाट टाढिएको छैन।

 अभिनयको हिसाबले चलचित्र र नाटकमा कुन सजिलो ?

यसमा नाटक स्वतन्त्र हुन्छ। नाटकमा कसैले रोकतोक गर्दैन। यो हिसाबले नाटकमा एउटा बेग्लै किसिमको अनुभूति हुन्छ। चलचित्रमा अलि गाह्रो नै छ। आफूले कसरी अभिनय गर्ने भन्ने कुरामा फरक भने एकदमै पर्छ। चलचित्रमा तत्काल भएको विषय देखाउन असम्भव हुन्छ तर नाटकमा ‘करेन्ट इस्यु’ देखाउन सकिन्छ। 

तपाईंले नेपाली चलचित्रबाहेक भारतीय चलचित्रमा पनि अभिनय गर्नुभएको छ हो ? 

हो, मैले अर्जुन कपुर अभिनीत चलचित्र ‘इन्डियाज मोस्ट वान्टेड’मा अभिनय गरेको छु।