• ८ वैशाख २०८१, शनिबार

राजेन्द्र लिङदेनको नेतृत्वबाट प्रभावित भएँ : अभिनेत्री कोइराला

blog

काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभामा बोल्नुहुँदै अभिनेत्री मनिषा कोइराला । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, कात्तिक २५ गते । अभिनेत्री मनिषा कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य  निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गर्नु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्नुहुँदै उहाँले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको स्पष्ट पार्नुभयो ।

भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङ्देनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उहाँको भनाइ थियो । अभिनेत्री कोइरालाले बीपीको विचारलाई पनि लिङ्देनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताउनुभयो ।

अभिनेत्री कोइरालाले भन्नुभयो, ‘‘आज म यहाँ उभिएको छु–राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर । उहाँले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो, मलाई त्यो कुरा सुनेर नेपालले असल नेतृत्व पायो भन्ने मलाई मनबाटै लाग्यो । त्यसैले म आज यहाँ उभिएको छु ।’’

उहाँले जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरूले जित्नुपर्ने तर्क समेत गर्नुभयो ।

‘‘म चाहन्छुलाई राप्रपाका उम्मेदवारहरूलाई अत्यधिक भोटले जिताउनु होस् । हलोमा भोट दिनुहोस् । तपाईँहरूको आवाज संसदमा बलियो होस् भन्ने म चाहन्छु । उहाँहरूले तपाईँहरूको सेवा गर्न पाउनु यो एउटा ठूलो मौका हो ।,’’ अभिनेत्री कोइरालाले भन्नुभयो, ‘‘धेरै पहिला बीपी र महेन्द्र सरकार दुवै जना एक आपसमा आदर राख्नु हुन्थ्यो । तर, उहाँहरूले कहिल्यै पनि सहकार्य गर्न पाउनु भएको थिएन । त्यतिखेर मुलुकले एउटा ठूलो मौका गुमाएको थियो ।’’

अभिनेत्री कोइरालाले नेपाली जनताले आफूलाई सधैँ माया गरेको उल्लेख गर्नुहुँदै त्यसले आफूलाई गौरवबोध गराएको समेत बताउनुभयो ।