• १४ वैशाख २०८१, शुक्रबार

डेङ्गु सङ्क्रमण बढेपछि वडा तहमा स्प्रे

blog

बर्दिबास समाचारदाता

बर्दिबास, कात्तिक २५ गते । वर्षा सकिएर जाडोयाम सुरु भइसक्दा पनि यहाँ डेङ्गुको प्रकोप कम भएको छैन। बर्दिबास अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट कृष्णा महर्जनका अनुसार परीक्षण गराउन आएकामध्ये अधिकांशमा अहिले डेङ्गु ‘पोजेटिभ’ देखिएको छ। ‘यो डरलाग्दो अवस्था हो,’ उहाँले भन्नुभयो। 

असपतालको अन्तरङ्ग कक्ष व्यवस्थित नहुँदा गम्भीर अवस्थाका डेङ्गु सङ्क्रमितलाई आकस्मिक कक्षमा राखेर उपचार गर्नु परेको डा. महर्जनले बताउनुभयो।

सरकारी अस्पताल व्यवस्थित नहुँदा नीजि अस्पताल र नर्सिङ होम डेङ्गु सङ्क्रमितले भरिएका छन्। बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालका व्यवस्थापक दीपेन्द्र ढकालका अनुसार अहिले डेङ्गुका सात जना बिरामी भर्ना भएका छन्। यसअघि ५० जनालाई उपचारका लागि भर्ना गरिएको थियो। त्यसमध्ये गम्भीर अवस्थाका पाँच जनालाई काठमाडौँ सिफारिस गर्नुपरेको ढकालले बताउनुभयो। अहिले पनि दैनिकजसो बिरामी आउने क्रम नरोकिएको अस्पताल स्रोतले जनाएको छ। सङ्क्रमण काबु बाहिर जान थालेपछि बर्दिबास नगरपालिकाले अहिले वडास्तरमा स्प्रे अभियान सुरु गरेको छ।

नगरपालिकाका प्रवक्ता तथा वडा नं. १४ का वडाध्यक्ष विजय महतोले स्प्रे मेसिन र औषधिसहित जनशक्ति परिचालन गरिसकेकोले साता दिनसम्ममा स्प्रे गरिसकिने जानकारी दिनुभयो। कतिपय वडामा स्प्रेको काम सम्पन्न समेत भइसकेको अन्यमा पनि भइरहेको जनाउनुभयो। 

“स्प्रेको जिम्मा सम्बद्ध वडालाई दिइएको छ,” उहाँले भन्नुभयो। यसअघि नगरपालिकाले ट्याक्टरबाट डेङ्गु प्रभावित वडामा स्प्रे गरेको थियो। रोकथाम हुन नसकेपछि नगरका १४ वटै वडामा हातले स्पे्र सुरु गरिएको छ। 

नगरपालिका स्वास्थ्य प्रमुख सुरेश पासवानका अनुसार डेङ्गुविरुद्ध ‘साइपर मेथिन’ औषधि स्प्रे गर्न लागिएको हो। यो औषधि सरकारले निःशुल्क उपलब्ध गराएपछि डेङ्गु नियन्त्रणका लागि स्प्रे गर्न सहज भएको उहाँले बताउनुभयो। यसका साथै घरआँगनको सरसफाइ र चेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकतासाथ लागू गरिएको नगरपालिकाले जनाएको छ।