• ७ वैशाख २०८१, शुक्रबार

ब्याजदर वृद्धिविरुद्धको चेम्बरको आन्दोलन स्थगित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २४ गते । नेपाल चेम्बर अफ कमर्सले बैङ्क तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो । 

बैङ्क तथा वित्तीय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैङ्कको चालु पुँजी कर्जासम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । निर्वाचन लगत्तै आफ्नो शान्तिपूर्ण सङ्घर्षका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसँग वार्तामार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्नेछ । त्यतिन्जेलसम्मका लागि सङ्घर्षका सबै कार्यक्रम स्थगित गर्न जिल्ला र नगर चेम्बर अफ कमर्सलाई आग्रह गरिन्छ, । ’

बैङ्क तथा वित्तीय संस्थाको चरम ब्याजदरबाट उद्योगी व्यवसायी निकै मर्कामा परे पनि निर्वाचनको मुखमा आन्दोलन गर्दा झन् समस्या उत्पन्न हुने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘ब्याजदर वृद्धिले उद्योग व्यवसाय निकै धराशायी भएका छन् । बढेको ब्याजदर घटाउने विभिन्न विकल्प हुँदासमेत सरकारले व्यवसायीको मागलाई सुनुवाइ गरेको छैन । निर्वाचन लगत्तै सङ्घर्षमा उत्रिनुको विकल्प छैन ।’

चेम्बरले यसअघि नियमनकारी निकाय राष्ट्र बैङ्कसमक्ष हाल कायम स्प्रेड दर एवम् बैङ्कहरूको आधार समय सान्दर्भिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्र बैङ्कलाई विभिन्न नौ बुँदामा ध्यानाकर्षण गराएको हो ।