• ११ वैशाख २०८१, मङ्गलबार

दमौली अस्पतालमा एकै दिन छ जनामा डेंगु सङ्क्रमण पुष्टि

blog

तनहुँको सदरमुकमाम दमौलीस्थित दमौली अस्पताल। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, कात्तिक २४ गते। जाडो मौसम सुरु भए पनि तनहुँमा डेंगुको सङ्क्रमण फैलिरहेको छ । सदरमुकाम दमौलीस्थित अस्पताल लगायतका अन्य अस्पतालमा डेंगुका बिरामीको चाप बढेको हो। 

सङ्क्रमण बढेकाले दमौली अस्पतालमा बिरामीको चाप बढेको दमौली अस्पतालले जनाएको छ। बिहीबार मात्रै अस्पतालमा १० जनाको परीक्षण गर्दा ६ जनाको पोजेटिभ आएको अस्पतालका प्रमुख डा. दिवस ढकालले जानकारी दिनुभयो। 

असोजदेखि तनहुँमा डेंगुको सङ्क्रमण फैलिएको र असोजमा मात्रै एक सय एक जनामा सङ्क्रमण भएको डा. ढकालले बताउनुभयो। अस्पतालमा डेंगुको परीक्षण हुँदा सङ्क्रमित भेटिँदै गएको अस्पतालले जनाएको छ  । अस्पतालका अनुसार उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी बेस्सरी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने लक्षण देखिएका बिरामी आउन थालेपछि शङ्का लागेर रगत परीक्षण गर्दा डेंगु पहिचान भएको हो।

डेंगुको सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो  । डेंगुबाट बच्न जिल्लाका १० वटै स्थानीय तहले लामखुट्टेको वासस्थान मास्ने लगायतको सचेतनाका कार्यक्रम गरिएको अधिकारीले बताउनुभयो। 

विशेषगरी सफा पानीमा हुने लामखुट्टेको टोकाइले डेंगुको सङ्क्रमण फैलिने गरेको छ। साथै डेंगुसँग मिल्दा लक्षण देखिने बित्तिकै चेक गराउन कार्यालयले आग्रह गरेको छ। सङ्क्रमितको सङ्ख्या धेरै देखिएकोले अवस्था जोखिमपूर्ण भएकोले सतर्कता अपनाउन आग्रह गरिएको स्वास्थ्य प्रमुख अधिकारीले बताउनुभयो। डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय हो।