• १६ चैत २०८०, शुक्रबार

बजार सफा, गाउँमा झन्डैझन्डा

blog

टीकापुर समाचारदाता

टीकापुर, कात्तिक २४ गते । निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दलका झन्डा र निर्वाचन चिह्नले टीकापुरबाट गाउँ जाने मुख्य सडक, चोक, चौराहा रङ्गिएका छन्। आचारसंहिताविपरीतका प्रचार सामग्रीले दलको खर्चसमेत बढेको छ। राजनीतिक दलले सम्पर्क कार्यालयबाहेकका स्थानमा झन्डा, ब्यानर, चिह्न राख्न नपाउने आचारसंहिताले व्यवस्था गरेको छ।

कैलाली क्षेत्र नम्बर १ मा पर्ने जानकी गाउँपालिका–७, चिलमचौराहास्थित बजारका पसलमा राजनीतिक दलका झन्डा र पर्चा टाँसिएपछि व्यापारीलाई तनाव भएको छ।

पसल अघिल्तिर दलको झन्डा राखिँदा ग्राहकसमेत भाँडिने चिन्ता व्यवसायीको छ। स्थानीय व्यवसायीका अनुसार व्यापार गर्ने मानिस भएकाले विरोध गर्न सकिँदैन। एउटाको झन्डा देखेपछि अरूले नराम्रो मान्छन्। यद्यपि जानकी गाउँपालिकाका बजार क्षेत्रहरू दुर्गौली, मुनुवालगायतका क्षेत्रमा भने प्रचार सामग्री छैनन्।

टीकापुर नगरपालिका–१, वनगाउँ बिचकापुरुवामा सडकका दुवैतिर दलका झन्डा ब्यानर राखिएका छन्। स्थानीयका अनुसार एकैदिन दलहरूले सडक दायाँबायाँ झन्डा ब्यानर राखेपछि बालबालिका रमाएको तर वयस्कलाई हर्ष न विस्मात भएको स्थानीय बताउँछन्। टीकापुरको मुख्य बजार क्षेत्रमा पर्चा, झन्डा ब्यानर केही नभए पनि निर्वाचन अधिकृतको कार्यालयनजिकै भने केही पसलमा झन्डा देखिएका छन्। 

जोशीपुर गाउँपालिकाका बजार क्षेत्रमा पनि कार्यालयबाहेक अन्यत्र झन्डा ब्यानर देखिएका छैनन्। तर, टीकापुर–जोशीपुर–भजनी सडकखण्डमा भने झन्डा र ब्यानर टाँगिएका छन्। 

नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाईका अनुसार मतदाता पनि सचेत भइसकेकाले झन्डा, तुल, ब्यानरमा खर्च गर्नु राम्रो होइन। टीकापुरमा केही अटो रिक्सा र गाउँमा झन्डा टाँगिएकाले निर्वाचन आचारसंहिताप्रति दलको प्रतिबद्धताअनुसार यसलाई पनि नियन्त्रण गर्नुपर्ने चपाईले बताउनुभयो।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख तथा निर्वाचन अनुगमन अधिकृत जगतप्रकाश भट्टले मङ्गलबार पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गको फूलबारी क्षेत्रका निर्वाचन सामग्री हटाइसकिएको र आज (बुधबार) गुनासो आएका क्षेत्र र टीकापुर क्षेत्रमा प्रहरीको सहयोग लिएर हटाउने बताउनुभयो।