• १३ वैशाख २०८१, बिहिबार

चिटिक्क बन्दै सिन्धुलीगढी दरबार

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, कात्तिक २४ गते । सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तलीमाई कतिमा राम्रो दरबार, मा-यो नि मायाले मा-यो। लोकगायक कृष्णविक्रम थापाले विक्रम संवत् २०३६ मा यो गीत गाउँदा सिन्धुलीगढीदरबारको सुन्दरता जति वर्णन गर्नलायक थियो, त्यसपछि भग्नावशेषमा परिणत उक्त दरबारको पुनर्निर्माणसँगै पुरानै शैलीमा फर्किंदै गएको छ। 

सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढीदरबारलाई पुनर्निर्माण गरी चिटिक्क पारिँदै लगिएको छ। पछिल्लो समयमा सिन्धुलीगढी पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएपछि सिन्धुलीगढीदरबारलाई पनि पुनर्निर्माण गरी चिटिक्क पारिएको हो। अहिले यो दरबारको पुनर्निर्माण कार्य अन्तिम चरणमा छ। स्थानीयले यो दरबारलाई रानीदरबारसमेत भन्छन्।

स्थानीयका अनुसार तत्कालीन समयमा पूर्व २ नम्बर क्षेत्रको प्रशासन सञ्चालन गर्ने सदरमुकाम (अड्डा)का रूपमा रहेको गढीदरबार विसं २०२० मा जिल्ला सदरमुकाम सिन्धुलीमाढी झारिएपछि संरक्षणविहीन भई भत्किएर भग्नावशेषमा परिणत भएको थियो। 

लामो सयमसम्म संरक्षण अभावमा दरबार र गढी किल्लाका भौतिक संरचनाहरू नष्ट हुँदै गएपछि गत वर्ष माघदेखि बागमती प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण सुरु गरिएको थियो।

गढीदरबारको गाह्रो लगाउने काम सकेर अहिले छानोको काम भइरहेको र अब एक महिनाभित्र सक्नेगरी धमाधम काम भइरहेको कमलामाई नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार गढीदरबार चार करोड ३८ लाख ९९ हजार ५२२ रुपिया“को लागतमा पुनर्निर्माणको काम भइरहेको हो। कमलामाई नगरपालिका र बागमती प्रदेशको पर्यटन विकास आयोजनाले १६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी दरबारको पुनर्निर्माण थालेको नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो। 

उहाँका अनुसार नगरपालिकाले सिन्धुलीगढीलाई प्राथमिकतामा राखेर पुनर्निर्माण थालेको छ। उहाँले भन्नुभयो, “गढीदरबारको ऐतिहासिक, पुरातात्त्विक  महत्वलाई ध्यानमा राखेर दरबारको पुरानै शैलीमा पुनर्निर्माण थालिएको छ। २०२० साल अघिसम्म सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीगढीमै थियो।” 

स्थानीय खोजकर्ता दिलीपकुमार थापाका अनुसार गढीदरबार तत्कालीन श्री ३ महाराज जङ्गबहादुर राणाका भाइ बमबहादुर राणाका छोरा बमवीरविक्रम राणाले निर्माण गरेको इतिहासमा उल्लेख भए पनि दरबार बडाहाकिम र सेनाहरू बस्नका लागि निर्माण गरिएको शिलालेख ढुङ्गामा लेखिएको छ। दरबार संरक्षणको अभावमा भत्किन थालेपछि शिलालेख ढुङ्गाहरू स्थानीयले घरतिर लगेर सिलौटा बनाएको उहाँको भनाइ छ। दरबार निर्माणमा प्रयोग भएका सखुवाका बिम, दलिन, निदाललगायत झ्यालढोकाका काठहरू हराएको थियो। 

कमलामाई नगरपालिकाका वातावरण शाखाका प्रमुख सागरकुमार ढकालका अनुसार दरबारदेखि दक्षिणतर्फ गणेश, सरस्वती, लक्ष्मी मन्दिर, धारा, पश्चिममा इनार, पोखरी, रहेको थियो। द्रुपद रानीको नाममा छोरा कर्णेल पुष्करविक्रम जबराले गढीदरबारलाई पुनर्निर्माण गरी रानीदरबार नामकरण गरेका थिए। गढीदरबार विसं १९८६ कात्तिक २८ गते निर्माण सम्पन्न भएको शिलालेखमा उल्लेख छ। 

यही गढीदरबारको नाममा लोकगायक तथा गीतकार कृष्णविक्रम थापाले ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई, कतिमा राम्रो दरबार मा-यो नि मायाले मा-यो’ भन्ने गीत गाएपछि सिन्धुलीगढीको चर्चा चुलिएको थियो। यो गीत लोकगायक थापाले विसं २०३६ मा रेडियो नेपालले राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा गाउँदा प्रथम भएको थियो। 

सिन्धुलीगढीमा नेपाली सेनाले युद्ध सङ्ग्रहालय निर्माण गरेसँगै घुम्न आउने पर्यटकको सङ्ख्या दैनिक रूपमा बढी रहेको वातावरण शाखा प्रमुख ढकालले जानकारी दिनुभयो। सिन्धुलीगढी परिसरमा पृथ्वीनारायण शाहको सालिक, वनभोज स्थल, घेराबेरालगायत काम सकिएका छन्। नेपाल–अङ्ग्रेज युद्धका क्रममा अङ्ग्रेजहरूको मुत्यु भएको स्थानमा समाधिस्थलको निर्माण गर्ने कार्य थालिएको छ। 

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नेक्रममा सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले कप्तान किनलोकको नेतृत्वमा आएका आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज फौजलाई हराई विरासत जोगाएकाले उक्त स्थानको ऐतिहासिक महत्व रहेको स्थानीयले बताएका छन्।