• ७ वैशाख २०८१, शुक्रबार

चुनाव नयाँ, एजेण्डा पुरानै

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक २४ गते । निर्वाचनमा जनताको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थासम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले तयार गरेको घोषणापत्रमा मूलभूतरुपमा राष्ट्र, राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी, पूर्वाधार निर्माण, नागरिकता, धर्म संस्कृतिसँग जोडिएका विषयवस्तुलाई नै समेटेका छन् ।

 सोही क्रममा नेपालका लागि नेपाली पार्टी भ्रष्टाचारको अन्त्य, पृथ्वीपथ र नेपालवादको मुद्दालाई प्रखररुपमा उठाउँदै मत माग्न जनताको घरदैलोमा पुगेको छ । निर्वाचन चिह्न शङ्ख रहेको उक्त पार्टीले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा तथा समानुपातिकतर्फ एक सय १० उम्मेदवार उठाएको  अध्यक्ष बालकृष्ण न्यौपानेले बताउनुभयो ।

पञ्चायत समयदेखि हालसम्म सार्वजनिक उच्च ओहदामा रहेका व्यक्तिको सम्पति छानबिन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राजसंस्था, सांसद मन्त्रिमण्डलमा सामेल हुन नपाउने प्रावधानसहित भ्रष्टाचार अन्त्य गर्न शक्तिशाली नागरिक आयोग गठनका मुद्दा उठाउँदै आएको छ । केही  राजनीतिक दलले भने देशको सङ्कटापन्न स्थिति, बाह्य हस्तक्षेप, सामाजिक न्याय तथा आत्मनिरर्भता, महिला एवं बालबालिका, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्यासमेत प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।

‘ढकिया’ चुनाव चिह्न तथा अध्यक्ष  रञ्जिता श्रेष्ठले नेतृत्व गर्नुभएको नागरिक उन्मुक्ति पार्टीले यस निर्वाचनमा मुलुकको विकास, पहिचान, सुशासन समृद्धिका साथै समावेशी पहिचानको मुद्दालाई प्रखररुपमा उठाएको छ ।

 प्रतिनिसभामा ८५ र प्रदेशसभा सदस्यमा एक सय ३७ उम्मेदवार खडा गरेको उक्त पार्टीले प्रत्यक्ष निर्वाचनद्वारा निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्छ भन्दैआएको छ । किराँत खुम्बुवान साझा पार्टीले यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक र प्रदेशसभा सदस्यमा दुई स्थानमा तथा समानुपातिकतर्फ १५ जनालाई उम्मेदवार बनाएको छ ।

‘ढाका टोपी’ चुनाव चिह्न रहेको उक्त पार्टीले प्रदेश नं १ लाई किराँत प्रदेश नामाकरण, धरानमा खानेपानीको सहज आपूर्ति, भ्रष्टाचार न्यूनीकरण तथा  शिक्षा र स्वास्थ्यका जल्दाबल्दा मुद्दालाई पनि त्यतिकै प्राथमिकता दिने जनाएको छ । पार्टीले मुलुकमा राजनीतिक स्थिरताका लागि जनताबाट निर्वाचित प्रधानमन्त्री तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउन उपयुक्त हुने मत राख्दैआएको छ ।  तामाङ शालिङ लोकतान्त्रिक पार्टीले प्रतिनिधिसभामा एक र प्रदेशमा २० उम्मेदवार खडा गरेको छ ।

‘वज्र’ चुनाव चिह्न रहेको उक्त पार्टीका अध्यक्ष सीमाङ तामाङले खर्चिलो र भड्किलो चुनाव प्रणाली रोक्न तथा जातीय जनसङ्ख्याका आधारमा उम्मेदवार छनोट हुने पूर्ण समानुपातिक निर्वाचनका पक्षमा वकालत गर्दैआएको छ । ‘घोडा’ चुनाव चिह्न तथा अध्यक्ष घनेन्द्र बस्नेत रहेको मितेरी पार्टी नेपालले यस निर्वाचनमा भौगोलिकरुपमा मुलुकलाई पाँच विकास क्षेत्र कायम गरी अलङ्कारी राजसंस्था रहनुपर्छ भनी त्यसको पक्षमा मत मागेको छ ।

कर्मा लामा अध्यक्ष रहनुभएको नेपाल विवेकशील पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ दुई उम्मेदवार मात्र उठाएको छ । ‘कुकुरको मुखाकृति’ चुनाव चिह्न रहेको उक्त पार्टीले वर्तमानमा अभ्यास गरिरहेको शासकीयस्वरुप र निर्वाचन प्रणालीमा व्यापक सुधार गरी अघि बढ्न सकिने प्रतिक्रिया दिएको छ ।

कुखुराको भाले’ चुनाव चिह्न बुद्धलाल मेचे अध्यक्ष रहेको मङ्गोल नेशनल अर्जनाइजेशनले मुलुकका सङ्घ र प्रदेश गरी यस निर्वाचनमा ५० जिल्लामा दुई सय ३८ उम्मेदवार उठाएको छ । लोकतन्त्र, धर्मनिरपेक्ष, सङ्घीयता र मङ्गोलीयन मूलवासीको अधिकार तथा अस्तित्वका मुद्दालाई उक्त पार्टीले प्रमुख मुद्दा बनाएको छ ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले मुलुकाका छ प्रदेशका ८६ निर्वाचन क्षेत्रमा यस पटक पार्टीका उम्मेदवार रहेको बताउनुभयो । पहिचानसहितको सङ्घीयता, हाल कायम रहेको न्यूनतम मत सीमा ‘थ्रेस होल्ड’ हटाउने तथा  प्रदेशलाई अधिकार सम्पन्न गराउने विषय उठाउँदै आएको मञ्चको चुनाव चिह्न ‘दापसहितको खुकुरी’ छ ।

बहुजन एकता पार्टी नेपालले समानता, स्वतन्त्रता, आत्मसम्मान र समृद्धिका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको छ । चुनाव चिह्न ‘सात खुड्किलाको भर्याङ’ रहेको  उक्त पार्टीले  प्रत्यक्षतर्फ ३४ र समानुपातिकतर्फ ४९ स्थानमा उम्मेदवार खडा गरेको छ ।

राष्ट्रपति होस् वा प्रधानमन्त्री दुवै कार्यकारी प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्छ भन्ने मान्यता बोकेको उक्त पार्टीले जातीय आरक्षणसहित पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जोड दिएको छ । मतदाताले पनि राजनीतिक दल र उम्मेदवारसँग शान्ति सुव्यवस्था, सुशासन, मलखाद, सिँचाइ र सडकजस्ता पुरानै माग दोहोर्याइरहेको पाइएको छ ।