• १६ चैत २०८०, शुक्रबार

सीमा जिल्ला बाँकेमा हतियार सङ्कलनमा चुनौती

blog

जिल्ला प्रहरी कार्यालय बाँके । तस्बिर : सिराज खान

नेपालगन्ज, कात्तिक २४ गते । बाँके जिल्लामा लाइसेन्स लिएर हतियार राख्ने र नवीकरण गर्नेको सङ्ख्या ठूलै छ । तर, निर्वाचनका बेला ती हतियार प्रहरी एकाइमा जम्मा गर्नुपर्ने सूचना जारी गरेर जम्मा नगरे कारवाही हुने चेतावनी दिइए पनि निकै कमले मात्र जम्मा गर्ने गरेको पाइएको छ । 

गत वैशाखमा पनि स्थानीय तहको निर्वाचनका बेला १० भन्दा कम मात्र हतियार प्रहरी एकाएमा जम्मा गरिएका थिए । २०७४ सालमा भएको निर्वाचनमा समेत प्रशासनले पटक पटक सूचना जारी गर्दा पनि लाइसेन्स वाला हतियार प्रहरी एकाइमा निकै कम सङ्ख्यामा जम्मा गरिएको थियो । 

जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङ्क अनुसार जिल्लामा ५५५ जनाले हतियार राख्न अनुमति लिएर एक हजार जति हतियार राखेका छन् । गत आर्थिक वर्ष २०७८-०७९ मा एउटा हतियार नामसारी भएको छ । उक्त अवधिमा १६९ वटा हतियार नवीकरण गरेको प्रशासनको तथ्याङ्क छ । 

प्रशासनले हातहतियार नवीकरणबाट मात्रै गत आर्थिक वर्षमा ५ लाख रुपियाँ राजस्व असुल गरेको छ । प्रशासनको तथ्याङ्क अनुसार बाँकेमा ३०० भरुवा बन्दुक र ५३४ वटा बाराबोर छ । जिल्लामा पेस्तोल सात वटा, बाराबोर एक नाले १७७, दुई नाले २४१, राइफल ८८, एअरगन ३, ३२ बोर ३ थान रहेको छ । जसमा सर्ट गन २ थान, १६ बोर राइफल ४ थान सहित बाँकेमा ८३४ वटा हतियार छन् । तर, निर्वाचनको बेला हतियार जम्मा गर्ने सूचना जारी गरिएकोमा हालसम्म कुनै पनि हतियार जम्मा गरिएको छैन । 

अनुमति लिएर राखिएका र भारतबाट भित्रिने अवैध हतियार तथा नेपालमै उत्पादित साना–घरेलु हतियार जिल्लाको सुरक्षाका लागि ठुलो चुनौती बन्दै गएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार विभिन्न स्थानमा भएको आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग बढी हुने गरेको छ । खुला सीमा र नेपाली सुरक्षाकर्मीको पातलो उपस्थितिले भारतबाट सहजै हतियार भित्रिने हुँदा त्यस्ता हतियार नै निर्वाचन सुरक्षामा बाधक बन्ने देखिएको छ । 

अनुमति लिएका हतियार जम्मा गराउन र भारतबाट अवैध हतियार भित्रिन नदिन कडाइ सुरु गरिएको प्रहरीले जनाएको छ । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले लाइसेन्स भएका हतियार सबै जम्मा गराउन कडाइ सुरु गरिएको बताउनुभयो । उहाँले नाकाहरूबाट पनि कुनै अवैध हातहतियार र आपराधिक व्यक्तिको घुसपैठ रोक्न कडाइ अपनाइएको बताउनुभयो । 

Author

सिराज खान