• १३ वैशाख २०८१, बिहिबार

धानको समर्थन मूल्य तोकियो

blog

काठमाडौँ, कात्तिक २४ गते । सरकारले चालू आर्थिक वर्षका लागि मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा गत साता बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । 

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले आव २०७९/८० का लागि मोटा धान प्रतिक्विन्टल दुई हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य तीन हजार १२८ रुपियाँ समर्थन मूल्य तोकिएको जानकारी दिनुभयो ।  किसानको उत्पादन लागत, नाफा २० प्रतिशत र ढुवानीसमेत जोडेर धानको समर्थन मूल्य गत वर्षभन्दा वृद्धि गरेको उहाँको भनाइ छ । मन्त्रालयका अनुसार अघिल्लो वर्ष असोजमा र दुई वर्षअगाडि असारमा धान लगाउनुपूर्व नै धानको समर्थन मूल्य तोकेको थियो ।

मन्त्रालयका अनुसार धानको मूल्य गत वर्षभन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ रुपियाँ र मध्यम धानमा २२६ रुपियाँ बढी रहेको छ । आव २०७८/७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७५२ र मध्यम धानको मूल्य प्रतिक्विन्टल दुई हजार ९०२ रुपियाँ तोकिएको थियो । सरकारले तोकेको तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्नेछ ।

कृषि मन्त्रालयका अनुसार न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड रुपियाँ बजेट विनियोजन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने जनाइएको छ । 

हाल स्वीकृत कार्यविधिअनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई ११२ प्रतिक्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । गत वर्ष यस कार्यक्रमअनुसार करिब नौ हजार मेट्रिक टन धान खरिद भएको थियो । यस आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिद गर्ने सरकारी योजना छ ।