• ७ वैशाख २०८१, शुक्रबार

कैलाली–२ मा विरासत जोगाउन र तोड्न प्रतिस्पर्धा

blog

टीकापुर, कात्तिक २४ गते । कैलाली–२ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठबन्धन र एमालेका उम्मेदवार विरासत जोगाउन र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई गठबन्धन र एमालेका उम्मेदवारको विरासत भत्काउने गरी प्रतिस्पर्धा छन् ।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भगतबहादुर  बडुवाल २०६४ सालको संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो भने नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावल २०७४ सालको निर्वाचनमा विजयी हुनुभएको थियो । २०६४ का विजेता बडुवाल र २०७४ का विजेता रावल आफ्ना विजयी यात्रा कायम राख्ने दाउमा हुनुहुन्छ भने २०७४ को निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा ख मा उम्मेदवार भई पराजित हुनुभएका अरुणकुमार चौधरी यस पटक प्रतिनिधि सभामा विजय हासिल गर्न निकै कसरत गरिरहनुभएको छ । चौधरी २०७९ को स्थानीय तहको निर्वाचनपछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरी प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएको हो । 

उम्मेदवारहरू भने आफू जित्ने दाबी गरिरहेका छन् । एमाले उम्मेदवार रावल यो पाँच वर्षको अवधिका आफ्नो अगुवाइमा भएको विकास पूर्वाधार निर्माणका आधारमा मत पाउने आश गर्नुभएको छ । गठबन्धनका उम्मेदवार बडुवाल विकासका कामहरू पूरा गर्दै समृद्धिको यात्रामा अघि बढ्न  मत मागिरहनु भएको छ । नागरिक उन्मुक्ति उम्मेदवार चौधरी थारु पहिचानको मुद्दा अघि बढाउन र युवाको नेतृत्व स्थापित गर्न  आफूले मत पाउने बताउनुहुन्छ । लम्कीचुहा नगरपालिकाका १० वडा, बर्दगोरिया गाउँपालिकाका छ वडा, मोहन्याल गाउँपालिकाका पाँच वटा र जानकी गाउँपालिकाका चार वडा गरी २५ वडा पर्दछन् ।  स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा  गठबन्धन पहिलो एमाले दोस्रो र नागरिक उन्मुक्ति तेस्रो स्थानमा छ । 

कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यका लागि नौ जना उम्मेदवार बने पनि प्रतिस्पर्धा भने तीन जना उम्मेदवारबीच हुने स्थानीय बताउँछन् । यस क्षेत्रमा एक लाख चार हजार ९०६ मतदाता छन् ।

दल बदलले नतिजा अस्थिर

नेताहरूको राजनीतिक दल बदलले गर्दा यस पटक कैलाली २ को विजेता को बन्ला भन्ने चासोमा साथ हेरिएको छ । 

नेकपा (एमाले) का तत्कालीन कैलाली अध्यक्ष तथा प्रदेश सभा सदस्य रतनबहादुर थापा र नेपाली काँग्रेसका नेता अरुणकुमार चौधरी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकाले काँग्रेस र एमाले दुवै दलले यसअघि पाएका मध्ये केही मतहरू नागरिक उन्मुक्तितिर जाने देखिन्छ । थापा कैलाली प्रदेश सभा क बाट पुनः र चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । २०७० सालको दोस्रो संविधान सभामा भने एमालेका तर्फबाट मोहनसिंह राठौर विजयी हुनुभएको थियो राठौर अहिले नेपाली काँग्रेसमा हुनुहुन्छ । यो क्षेत्रमा २०४८ र २०५६ सालमा नेपाली काँग्रेस र २०५१ सालमा नेकपा (एमाले) विजयी भएको थियो ।

Author

एकिन्द्र तिमिल्सेना