• १३ वैशाख २०८१, बिहिबार

सर्लाही–१ मा त्रिपक्षीय प्रतिस्पर्धा

blog

सर्लाही समाचारदाता

सर्लाही, कात्तिक २४ गते । सर्लाहीको क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। पाँचदलीय सत्ता गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी एमाले–जनता समाजवादी पार्टी गठबन्धन र बागी उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। 

गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी, एमाले–जसपा गठबन्धनबाट जसपाका प्रमोद साह र एमालेका बागी उम्मेदवार मानबहादुर खड्काबीच प्रतिस्पर्धा हुने देखिएको हो। बागी उम्मेदवारी दिनुभएका खड्कालाई एमालेले कारबाही गरिसकेको छ। उहाँलाई पार्टीले कारबाही गरेको भए पनि उहाँकै दल एमाले, नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका केही नेताले साथ दिएका छन्। 

कांग्रेसबाट टिकट नपाएर रुष्ट बन्नुभएका पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ खड्काको पक्षमा देखिनुभएको छ। खड्का आफैँले पनि कांग्रेस, माओवादी र एमालेका नेताहरूको समर्थन पाएरै आफूले उम्मेदवारी दिएको बताउँदै आउनुभएको छ। 

कांग्रेस नेता श्रेष्ठले टिकट लिन लामो समयदेखि कसरत गरिरहनुभएको थियो तर अन्तिम समयमा आएर गठबन्धनमा जोडिएको दल लोसपाका नेता चौधरीले टिकट पाएपछि उहाँ रुष्ट बन्नुभएको छ। २०७४ सालको चुनावमा श्रेष्ठले यो निर्वाचन क्षेत्रबाट टिकट पाउनुभएको थियो। 

त्यसबेला यस क्षेत्रबाट तत्कालीन राजपा (हाल जसपा)का प्रमोद साह विजयी हुनुभएको थियो। एमालेबाट बागी उम्मेदवारी दिनुभएका खड्का लालबन्दी नगरपालिकाको पूर्वनगरप्रमुख हुनुहुन्छ।

सर्लाही क्षेत्र नं. १ मा ४९ वटा वडा छन्। गएको पालिका चुनावमा कांग्रेस १९ वटा वडामा विजयी भएको थियो। त्यसैगरी एमाले र माओवादी केन्द्रले ११÷११ वटा वडामा जितेका छन् भने एकीकृत समाजवादीले तीन, लोसपाले दुई, जसपाले एक, स्वतन्त्रले दुईवटा वडा जितेका थिए। लोसपाले ४९ मध्ये दुईवटा वडामा मात्रै विजयी भए पनि गठबन्धनका कारण यो क्षेत्र उसकै भागमा प¥यो र नेता रामप्रकाश चौधरीले टिकट पाउनुभएको हो।