• १५ चैत २०८०, बिहिबार

‘रङ उत्सव थ्री’ कला प्रदर्शनी

blog

काठमाडौँ, कात्तिक २४ गते । ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा  ‘रङ उत्सव थ्री’ शीर्षकमा तेस्रो अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ। आयोजक संस्था शिवारङ्गले यसअघि दुई पटक रङ उत्सव शीर्षकमा कला प्रदर्शनी आयोजना गरिसकेको छ। 

नेपालका पाँच र भारतका ३० कलाकारको सहभागिता रहेको यस प्रदर्शनीको उद्घाटन किरण मानन्धरले गर्नुभएको हो। सो अवसरमा उहाँले कलाको माध्यमबाट दुई देशको मित्रता बलियो हुने विश्वास व्यक्त गर्नुभयो। आगामी दिनमा पनि कला प्रदर्शनी निरन्तर हुनुपर्नेमा जोड दिँदै उहाँले दुई देशका कलाकारको सिर्जनाबाट एकआपसमा सिक्ने/बुझ्ने अवसर मिल्ने बताउनुभयो।  

त्यसैगरी वरिष्ठ कलाकार महेश आचार्यले  कलाको माध्यम, सन्देशसहित छुट्टाछुट्टै  विशेषता रहेको उल्लेख गर्दै यस्ता कला प्रदर्शनीले नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय कलाकार र सिर्जनासँग जोड्न सहयोग पुगेको बताउनुभयो। मिथिया येँ ग्यालरीका सञ्चालक एवं वरिष्ठ कलाकार श्यामसुन्दर यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनीका लागि मञ्च उपलब्ध गराउँदै आएको बताउनुभयो। 

विगत १७ वर्षदेखि सञ्चालनमा रहेको यस ग्यालरीमा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शनी भइसकेका छन्। यसै क्रममा भारतका वरिष्ठ कलाकार राहुल स्वामीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चित्र बनाउनुभयो। कात्तिक २५ सम्म चल्ने प्रदर्शनीमा जनजीवनमा आधारित, धार्मिक र पर्यटकीय महत्वका गन्तव्यलगायतका चित्र समेटिएको छ।