प्रधानमन्त्रीको आसन्न भारत भ्रमण सहमति र सम्झौता कार्यान्वयनको खुट्किलो

ललितपुर, साउन २९ ।  भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा विगतको सहमति र सम्झौता कार्यान्वयनमा महìवपूर्ण प्रगति हुने बताउँदै त्यसबाट नेपालको आर्थिक विकासले गति लिने बताउनुभएको छ ।
राजनीतिक तहमा दुवै देशबीचको सम्बन्ध नयाँ चरणमा विकसित भएको भन्दै उहाँले यो भ्रमणले सरकार–सरकार (जीटुजी) र व्यापारिक क्षेत्र (बीटुबी)बीच विस्तारित हुने सम्बन्धले लगानी  र सहयोगको क्षेत्र बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
भ्रमणले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नमिलेका विषय मिलाउने, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण अगाडि बढाउन आधार सिर्जना गर्नुका साथै अरुण तेस्रो जलविद्युत् आयोजनाको दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त शिलान्यासको टुङ्गो लाग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  अरुण तेस्रोका सन्दर्भमा जग्गा प्राप्ति, वनक्षेत्रलगायतका केही कुरा चाँडो टुङ्गिए भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण चाँडो हुने उहाँको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अर्को महिना हुन लागेको भारत भ्रमण सन्दर्भमा समेत यहाँ रहनुभएका राजदूत उपाध्यायले भारतसितको व्यापारघाटा न्यून गर्न आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन जोड दिइने स्पष्ट गर्नुभयो ।
‘प्रधानमन्त्री देउवाको भारत भ्रमणमा विगतका सम्झौता र सहमति कार्यान्वयनबारे गम्भीर छलफल गरी टुङ्गोमा पु¥याउने मुख्य कार्यसूची बनेको छ,’ यहाँ रिपोर्टर्स क्लबको संयोजनमा भएको पत्रकार भेटघाटमा राजदूत उपाध्यायले थप्नुभयो, ‘एकतर्फी मात्र भइरहेको भ्रमणलाई झण्डै १७ वर्षपछि भारतका तर्फबाट उच्च स्तरीय भ्रमण प्रधानमन्त्री मोदीले नै आरम्भ गर्नुभएको हो ।  त्यसपछिको उच्च स्तरीय भ्रमणलाई नेपालको राष्ट्रिय हित र आर्थिक विकासमा रूपान्तरण गर्न हाम्रो गृहकार्य पनि उत्तिकै जरुरी छ । ’
बङ्गलादेश र अफगानिस्तानमा ठूला पूर्वाधारमा भारतीय सहयोग बढिरहेको सन्दर्भमा नेपालको पूर्वाधार विकासमा व्यापक सहयोगका क्षेत्र खोज्ने बेला भएको पनि उहाँले स्पष्ट गर्नुभयो ।  परियोजना शीघ्र कार्यान्वयन हुने संरचना आवश्यक छ भन्दै उहाँले व्यापक पूर्वाधार विकासविना समृद्धितर्फको यात्रा सहज नहुने स्पष्ट गर्नुभयो ।
पूर्वाधार विकाससँगै नेपालमा विकास हुँदै गएको ऊर्जा पहुँचले भारतमा रहेका झण्डै तीन हजार बहुराष्ट्रिय कम्पनीमध्ये सानो हिस्सा मात्रै नेपाल आउँदा त्यसले लगानी, उत्पादन र रोजगारीमा सकारात्मक प्रभाव पर्छ भन्नुहुँदै उहाँले त्यसका लागि वातावरण बनाउन पनि यो भ्रमण महìवपूर्ण हुनेछ भन्नुभयो ।
प्रधानमन्त्रीको भ्रमणमा पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न बाँकी रहेको अवरोध चिर्न सहयोगी हुने उहाँले बताउनुभयो ।  एक्काइस वर्षअघि भएको महाकाली सन्धिमा त्यस्तो डीपीआर छ महिनामा बन्ने भने पनि अझै काम हुन सकेको छैन ।  ‘यो भ्रमणले गाँठो फुकाउने छ,’ उहाँले थप्नुभयो, ‘नदीमा पानी होइन, डलर बगिरहेको छ, अब बुझ्न ढिलाइ गर्नुहुन्न । ’ पञ्चेश्वर परियोजनामा कम्तीमा छ हजार चार सय मेगागाट बिजुली उत्पादन हुने प्रक्षेपण छ ।
पञ्चेश्वरमा सीमा नदी भएकाले असजिला विषयलाई अन्तर्राष्ट्रिय मापदण्डका आधारमा टुङ्गो लगाउन सकिने भन्नुहुँदै उहाँले दुवै देशको हितमा रहेका परियोजना कार्यान्वयनमा अब कुनै ढिलाइ गर्न नहुने बताउनुभयो ।
भारतीय बहुराष्ट्रिय कम्पनी जीएमआरले माथिल्लो कर्णालीको निर्माणमा लगानी सुनिश्चित गर्नेबारे पनि काम अगाडि बढिरहेको र भ्रमणले त्यसमा अझ सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।  थर्मल प्लान्टबाट उत्पादित विद्युत्का कारण भारतले नेपाल र बङ्गलादेशमा ऊर्जा निर्यात गरिरहेको छ भन्दै राजदूत उपाध्यायले आउँदो हिउँदमा नेपालमा विद्युत् कटौती (लोडसेडिङ) हुन नदिने गरी विद्युत् ल्याइने बताउनुभयो ।  
राजदूत उपाध्यायले सन् १९५० को सन्धि पुनरावलोकनमा दुवै देशको प्रबुद्ध समूह (ईपीजी) गृहकार्य गरिरहेकाले त्यसले सार्थक निष्कर्ष निकाल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
‘नयाँ दिल्ली नेपाली पक्षका कुरा सुन्न उत्सुक पाएको छु र प्रधानमन्त्री देउवाको स्वागतका लागि पनि आतुर पाएको छ,’ राजदूत उपाध्याले थप्नुभयो, ‘प्रधानमन्त्री मोदी नमिलेका विषयलाई चाँडो समाधान गर्न क्रियाशील हुनुहुन्छ र हामी पनि लचक भएर राष्ट्रिय हितमा काम गर्नुपर्छ । ’
‘व्यापार घाटा न्यून गर्नु सजिलो विषय होइन तर भारतीय र बहुराष्ट्रिय लगानीबाट उत्पादन बढाएर त्यो सम्भव हुन्छ, त्यसका लागि युनिलिभर र डाबरजस्ता कम्पनी उत्कृष्ट नमुना हुन्,’ उहाँको भनाइ थियो ।  भारतीय  प्रधानमन्त्री मोदीलाई अरुण उद्घाटनका अवसरमा जनकपुर, लुम्बिनी, मुक्तिनाथ र पाथीभरा लैजान सक्दा पर्यटन प्रवद्र्धनमा ठूलो फड्को मार्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds