• ४ वैशाख २०८१, मङ्गलबार

वैदेशिक रोजगारीका उजुरी दोब्बर

blog

काठमाडौँ, कात्तिक २४ गते । वैदेशिक रोजगारीका नाममा हुने व्यक्तिगत ठगीका उजुरी दोब्बरले बढेको छ । आव २०७८/७९ को तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ठगीका उजुरी दोब्बरले बढेको हो । कोभिड–१९ सङ्क्रमणपछि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या वृद्धि भएसँगै ठगी पनि बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका युवाले नौ करोड रुपियाँ ठगी भएको भन्दै उजुरी गरेकामा चालू आर्थिक वर्षको सोही अवधिमा यो रकम बढेर १९ करोड दुई लाख रुपियाँ पुगेको छ । यो गत वर्षको भन्दा दोब्बरभन्दा बढी हो । 

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ठगीका २४२ वटा उजुरी परेका छन् भने संस्थागत ठगीका २४५ वटा उजुरी परेका छन् । 

विभागका महानिर्देशक उमाकान्त आचार्यले गत वर्षको साउन, भदौ र असोज महिनाको तुलनामा यस वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका नाममा हुने ठगीका उजुरी शतप्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, वैदेशिक रोजगार कम्पनी र तिनीहरूले अवैध रूपमा राखेका एजेन्ट र विदेश पढ्न पठाउन भन्दै खोलिएको शैक्षिक परामर्शदताबाट ठगिने गरेका छन् । 

वैदेशिक रोजगारीमा अधिकतम १० हजार रुपियाँ मात्र सेवा शुल्क लिन पाउने कानुनी व्यवस्था छ तर कतिपय म्यानपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको उहाँको भनाइ छ । 

नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली गर्ने प्रवृत्तिका कारण ठगी रकम र उजुरी सङ्ख्या बढेको श्रमविज्ञ रामेश्वर नेपालको भनाइ छ । सरकारले वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न नपाउने निर्णय गरेको भए पनि विभागमा उजुरी दर्ता भएको छ । 

विभागका अनुसार चालू आर्थिक वर्षको साउन–असोजमा वैदेशिक रोजगारी पठाइदिने भन्दै २४२ वटा व्यक्तिगत उजुरी परेका छन् । विभागले गत वर्षको सो अवधिमा १५९ वटा उजुरी परेको जनाएको छ । चालू आर्थिक वर्ष ४५ वटा उजुरीमा मिलापत्र भएर पीडितले ४२ करोड रुपियाँ फिर्ता पाएको र १७ वटा मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता भएको विभागले जनाएको छ । 

विभागको अनुसन्धान तथा मुद्दा शाखाका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १९ करोड रुपियाँको ठगी उजुरीमध्ये ११ करोड ९९ लाख रुपियाँ बराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएको छ । 

एजेन्ट राख्ने व्यवस्था खारेज भएसँगै म्यानपावर कम्पनीको आडमा व्यक्तिगत ठगी गर्ने गिरोह सक्रिय रहेका कारण उजुरी बढेको हुन सक्ने अनुमान विभागले गरेको छ । 

विभागका महानिर्देशक आचार्यले श्रमिकबाट पैसा लिने स्थान म्यानपावरको परिसर बनाउँदै व्यक्तिगत रूपमा युवासँग पैसा असुल्ने र म्यानपावर कम्पनी पन्छिने गरेका घटना बढ्न थालेको जानकारी दिनुभयो । उहाँका अनुसार व्यक्तिगत ठगी म्यानपावर कम्पनीको आडमा र समूह बनाएर गिरोहका रूपमा हुन थालेको छ । 

व्यक्तिगत ठगीका उजुरीमा म्यानपावर कम्पनीभित्रै पैसा लेनदेन हुने गरेको विभागको आकस्मिक अनुगमनका क्रममा पाइने गरेको छ । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भए पनि व्यक्तिगत ठगीमा कमी आएको छैन ।