• १६ चैत २०८०, शुक्रबार

माधवको पुनरागमनले चुनावी रौनक

blog

इश्वरचन्द्र झा/सञ्जयकुमार मिश्र

गौर (रौतहट), कात्तिक २४ गते । राजदेवी नगरपालिका वडा नं. ९ का ५९ वर्षीय वीरेन्द्र सिंह पछिल्लो ३० वर्षदेखि दैनिक रूपमा डुङ्गामा मोटरसाइकल राखेर वडा नं. ६ स्थित श्री माध्यमिक विद्यालय सेढवा ओहोरदोहोर गर्नुहुन्छ । सिंह पेसाले शिक्षक हुनुहुन्छ । राजदेवी नपाको वडा नं. ९ ब्रम्हपुरी र वडा नं. ६ सेढवालाई बागमती नदीले छुट्याएको छ । नदी पूर्वका पाँच हजार व्यक्ति रौतहटबाट अलग्गिएको महसुस गर्दै आएका छन् ।  

वर्षको छ महिनाभन्दा बढी समय उच्च बहाव रहने बागमती नदी डुङ्गामा तर्ने सिंह एक्लो हुनुहुन्न । दैनिक एक हजारभन्दा बढी व्यक्ति मोटरसाइकललाई डुङ्गामा राखेर बागमती तर्छन् । सेढवा र बडहर्वाका करिब पाँच हजार व्यक्तिले मङ्सिर ४ मा हुने निर्वाचनलाई ठूलो अवसरको रूपमा लिएका छन् । 

स्थानीय २० वर्षीय धिरजकुमार पटेलले पानीको उच्च बहावमा डुङ्गाको यात्रा गर्दा हुने त्रास उम्मेदवारले महसुस गरेको बताउँदै जितेपछि पुल निर्माणमा अग्रसरता देखाउने विश्वास व्यक्त गर्नुभयो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताले आइतबार सेढवामा घरदैलोको क्रममा आफूले चुनाव जिते पुल निर्माण गर्ने आश्वासन बाँडेर फर्किनुभयो । 

राजदेवी–१ पथराका ५५ वर्षीय ज्योतिष साहले भन्नुभयो, “उम्मेदवारले बागमतीमा पुल बनाउने आश्वासन बाँडेको दुई दशक बढी भयो तर पूरा भएको छैन ।” बडहडवामा पुल निर्माणाधीन छ तर दशक बित्न लाग्दा पूरा भएको छैन । सिंहले भन्नुभयो, “कयौँपटक अध्ययन भयो, पुल कागजमै सीमित छ ।” ब्रह्मपुरी घाटबाट अलपत्र अवस्थामा रहेको निर्माणाधीन पुल करिब पाँच किलोमिटर टाढा पर्छ । साधन हुनेले सुरक्षा खोज्दै भारतीय भूभागमा निर्मित पुल भएर सेढवा, बडहर्वा पुग्न बैरगनियाँ हुँदै करिब २५ किलोमिटर यात्रा गर्छन् ।

रौतहट निर्वाचन क्षेत्र नं. १ मा बागमतीपारिको उक्त वडासहित राजदेवी, गौर र माधवनारायण नपाका नौ/नौ वडा, यमुनामाई र दुर्गाभगवती गाउँपालिकाका पाँच/पाँच, गढीमाई नपाको तीन र गरुडा नपाको एक गरी ४१ वडा छन् । पाँचवटै पालिकादेखि सदरमुकाम गौरसम्मको सडक दुरुस्त छन् । दुवैतर्फको उर्वर खेतलाई कालोपत्रे सडकको विभाजनले पूर्वाधार विकासको अनुभूति गराउँछ तर सतहमा देखिने जस्तो अवस्था छैन । पश्चिममा लाल बकैया र पूर्वमा बागमतीको बीचमा रौतहटवासी बाढी डुबानको चपेटामा पर्दै आएका छन् । बागमतीमा बग्ने पानी खेतमा पुग्दैन । 

राजदेवी नपा वडा नं. ३ का ६५ वर्षीय नन्दलाल बैठाले खेतबारीमा सिँचाइको व्यवस्था, अस्पतालमा भरपर्दो स्वास्थ्य सेवा र सामुदायिक विद्यालयमा नियमित पठनपाठन गराउन सक्ने प्रतिनिधि निर्वाचित हुनुपर्ने औँल्याउनुभयो । बाढी, डुबान र सिँचाइ अभावले खेतीयोग्य जग्गामा राम्ररी उत्पादन हुन सकेको छैन । किसानका आफ्नै चिन्ता छन् । युवालाई शिक्षा, स्वास्थ्यको खस्कँदो स्तरले भविष्यको पिर छ । 

दुर्गा भगवती गाउँपालिका वडा नं. ५ स्थित श्री नारायण कामाक्ष्या प्राविमा छ जना शिक्षक कार्यरत छन् तर विद्यालय समयमा तीन जना मात्रै भेटिए । स्थानीय शान्ती देवीले भन्नुभयो, “कार्यालयमा शिक्षक वाइफाइ चलाएर बस्छन्, छात्रछात्रा विद्यालय पोसाकमै गाउँ डुल्छन् ।” विद्यालयले दिने खाजासमेत स्तरीय नभएको उहाँले बताउनुभयो । 

स्थानीय २० वर्षीय ललनकुमार दासले कीरा लागेको चामलको जाउलो, सुजीको हलुवा र चिउरा–चिनी खाजामा दिइएको गुनासो गर्नुभयो । जिल्लाको अन्य पालिका र वडाको अवस्थासमेत सन्तोषजनक छैन । यमुनामाई गाउँपालिका–५ झुन्खुन्वाका २० वर्षीय समसाद आलमले “एसईई वा १२ पास गरेर विदेश जानुपर्ने परम्परा बसालिएको बताउँदै समाज सुधारका लागि स्तरीय शिक्षामा जोड दिने र देशमै रोजगार सिर्जना गर्ने उम्मेदवार खोजेको बताउनुभयो ।  

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्पर्धाका लागि नौ वर्षपछि फर्किंदा रौतहटको माहोल तातेको छ तर उहाँको चुनाव चिह्न बदलिएको छ । आफैँ अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)को कलम उहाँको चुनाव चिह्न हो । 

२०७० मा रौतहट १ बाट निर्वाचित हुँदा उहाँको चुनाव चिह्न सूर्य थियो । अहिले भने त्यतिबेलाका उहाँको निकटतम प्रतिद्वन्द्वी गुप्ताले उक्त चिह्न लिनुभएको छ । नौ वर्षअघि गुप्ता मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट उम्मेदवार हुनुहुन्थ्यो । 

२०५६ को आम निर्वाचनमा रौतहटको क्षेत्र नं. १ र ४ गरी दुई क्षेत्रबाट निर्वाचित नेपाल २०६४ मा भने काठमाडौँबाट स्पर्धा गर्नुभयो तर पराजित हुनुभयो । मधेश आन्दोलनपछिको उक्त चुनावमा स्वतन्त्र भएर उम्मेदवारी दिएका बबन सिंह यहाँबाट निर्वाचित हुनुभयो । सिंहको निकटतम प्रतिद्वन्द्वी गुप्ता र अमरप्रसाद यादव थिए । 

२०७० को निर्वाचनमा तेस्रो भएका लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता अनिलकुमार झा २०७४ मा रौतहट १ बाट निर्वाचित हुनुभयो । गुप्ता भने स्थानीय निर्वाचनमा गौर नगरपालिकाको प्रमुख निर्वाचित हुनुभयो तर पाँच वर्षपछि वैशाख ३१ मा सम्पन्न स्थानीय निर्वाचनमा प्रमुख पदमा दोहो¥याउने गरी उम्मेदवारी दिएका गुप्ता भारी अन्तरले पराजित हुनुभयो । 

यद्यपि प्राध्यापक बिन्दा सहनीका अनुसार रौतहट १ मा नेपाल र गुप्ताबीच नै मुख्य स्पर्धा देखिएको छ । प्रमुख दलहरू दुई ध्रुवमा विभाजित हुँदा दुवैतर्फको गठबन्धनका उम्मेदवारबीच नै मुख्य स्पर्धा हुने उहाँले तर्क गर्नुभयो । उक्त क्षेत्रमा पर्ने पाँच पालिकामध्ये गौरमा शम्भु साह र राजदेवी नगरपालिकाको प्रमुखमा भिखारी यादव नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र लोसपाका एक÷एक जना पालिका प्रमुख छन् । 

पालिकाका ४१ वडामध्ये नेकपा (एस)का १७ जना वडाअध्यक्ष निर्वाचित भएका छन् । कांग्रेसबाट नौ, माओवादी केन्द्रबाट पाँच, लोसपा, जसपा र नेकपा (एमाले)बाट तीन/तीन जना वडाअध्यक्ष निर्वाचित  छन् । गौर वडा नं. ७ मा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 

एकीकृत समाजवादीका उम्मेदवार नेपाललाई कांग्रेस, माओवादी केन्द्र, लोसपा र राष्ट्रिय जनमोर्चाको समर्थन छ । एमालेले जसपासँग चुनावी तालमेल गरेको छ तर एमालेका उम्मेदवार गुप्ताको घरदैलोमा जसपाका प्रदेशतर्फका उम्मेदवार देखिएनन् । कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धनका वडाध्यक्षले कुल ५२ हजार ४८५ मत पाएको हो । एमाले र जसपाले १३ हजार ९०३ मत पाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहट १ मा एक लाख दुई हजार ४३६ मतदाता छन् । रौतहट १ मा आठवटा राजनीतिक दल र नौ स्वतन्त्र गरी १७ जना उम्मेदवार छन् । 

नेमकिपाबाट वैद्यनाथप्रसाद चौधरी, जनमत पार्टीबाट राजेन्द्रप्रसाद साह, राप्रपा नेपालबाट सरोजकुमारी, नेपाल सुशासन पार्टीबाट रञ्जितकुमार पटेल, नेपाली जनता दलबाट सुवोधचन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्यदेवप्रसाद कोइराला उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट अवधेशकुमार ठाकुर, राहुलकुमार मिश्र, अनिलकुमार लाल दासलगायतका उम्मेदवार छन् । 

पुरानै प्रतिद्वन्द्वीबीच प्रतिस्पर्धा

निर्वाचन प्रचारप्रसारका क्रममा दुर्गाभगवती गापाको पिपरा बजारमा मतदाताको घरदैलोमा भेटिनुभएका नेपालले आफ्नो आगमनले रौतहटका जनता उत्साहित भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “जनतामा उत्साह र उमङ्ग थपिएको छ ।”

विगतमा केपी ओली नेतृत्वको एमाले सरकारले अपेक्षा पूरा गर्न नसक्दा जनतामा नैराश्यता देखिएको दाबी गर्दै नेपालले भन्नुभयो, “राष्ट्रिय स्तरमै सबै नेता उस्तै छन् भन्ने मतदाताको मनसाय पाएको छु तर यसमा चुनावी विकृति र भ्रष्टाचार मुख्य कारक हो ।”

स्थानीयवासीको माया, माग र दबाबले आफू रौतहटबाट उम्मेदवारी दिएको उहाँले बताउनुभयो । रौतहटमा हुर्किएका र शिक्षक भएर काम गर्दागर्दै राजनीतिमा होमिएका नेपालले अलपत्र परेका योजनालाई निरन्तरता दिने, अनुगमन संयन्त्रलाई बलियो बनाउने तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्न प्रयत्नशील रहने बताउनुभयो । 

एमालेका गुप्ताले आफ्नो चुनावी प्रतिबद्धताबारे भन्नुभयो, “युवालाई रोजगारी, किसानलाई सिँचाइ र समयमै अनुदानमा मलखाद दिने व्यवस्था मिलाउने कामलाई प्राथमिकतामा राख्नेछु ।”

प्रदेश सभाका लागि त्रिपक्षीय स्पर्धा

रौतहट क्षेत्र नं. १(क) मा वाम लोकतान्त्रिक गठबन्धनबाट नागेन्द्र साह र नेकपा (एमाले)बाट राजकिशोर यादव उम्मेदवार छन् । यसअघि २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित बाबुलाल साह स्वतन्त्र भएर उम्मेदवारी दिनुभएको छ । कांग्रेसका साह निर्माण कम्पनी सञ्चालक हुनुहुन्छ । यादव सक्रिय राजनीतिमा हुनुहुन्छ भने बाबुलालले प्रदेश सभामा स्थानीय मुद्दालाई प्राथमिकतासाथ उठाएर चर्चित हुनुभएको छ । 

रौतहट १(ख)मा कांग्रेसका मधेश प्रदेश सभापतिसमेत रहनुभएका कृष्णा यादव गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ । सम्भावित मुख्यमन्त्रीका रूपमा स्थानीय बासिन्दाले यादवलाई हेरेका छन् । प्रदेशमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत रहनुभएका जसपाका योगेन्द्र यादव पनि उम्मेदवार हुनुहुन्छ । प्रदेश मन्त्री यादवसँगै २०७४ को प्रदेश निर्वाचनमा झिनो मतको अन्तरले पराजित कांग्रेसका तत्कालीन उम्मेदवार राजेश चौधरी यस पटक स्वतन्त्र उम्मेदवारी दिएका छन् । विगत दुई दशकदेखि मधेश केन्द्रित दलसँग आबद्ध भएर राजनीति गरेका श्रीमननारायण मिश्र जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका छन् ।