• १६ चैत २०८०, शुक्रबार

सहकर्मी नै प्रतिस्पर्धी

blog

हिले समाचारदाता

हिले, कात्तिक २४ गते । धनकुटा जिल्लाको प्रदेश सभा (क) निर्वाचनमा पूर्व तीन सहकर्मी अहिले फरक फरक दलबाट निर्वाचनमा होमिएका छन् र उनीहरू नै मुख्य प्रतिस्पर्धी देखिएका छन्। 

प्रतिस्पर्धी उम्मेदवारहरू नेपाल कम्युनिस्ट पार्टी एमालेका धनकुटा सचिव निरन राई, सत्तापक्षीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनकुटा अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङ एक समय नेकपा एमालेबाट राजनीति गर्नुहुन्थ्यो। अशोक राईको नेतृत्वमा एमाले फुट्दा रकम चेम्जोङ बाहिरिनुभयो। त्यस्तै माधवकुमार नेपालको नेतृत्वमा एमाले फुट्दा अर्जुन राई बाहिरिनुभयो र अहिले धनकुटामा पूर्वतीन सहकर्मीबीचको टक्कर छ। जनता समाजवादीका नेता चेम्जोङ २०६६ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री हुँदा उहाँका प्रमुख स्वकीय सचिव अर्जुन राई बन्नुभएको थियो। 

तीन प्रतिस्पर्धीमध्ये चेम्जोङ २०४८ साल यता धनकुटामा उम्मेदवार बन्दै आउनुभएको छ। त्यसो त यो निर्वाचनमा रकम चेम्जोङले सङ्घतर्फ नै उम्मेदवारी बन्ने बताउँदै आउनुभएको थियो तर उहाँले मनोनयनको दिन मात्र आफ्नो मनसाय बदलेर प्रदेशमा उम्मेदवारी दिनुभएको हो। उहाँले सङ्घीयतामा प्रदेशलाई बलियो बनाउन आफूले प्रदेशमा उम्मेदवारी दिएको बताउँदै तथा आफूले जिल्ने दाबी गर्नुहुन्छ। “मैले गरेको कामबाट धनकुटेली जनता परिचित छन् त्यसैले मेरो जित सुनिश्चित छ,” चेम्जोङ भन्नुहुन्छ। 

यता एमालेका उम्मेदवार निरन राई मैदानमा दोस्रो पटक हुनुहुन्छ। उहाँले २०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवारी दिएर विजयी हुनुभएको थियो। उहाँले अघिल्लो निर्वाचनमा भोट माग्न हिँड्दा अहिलेका प्रतिस्पर्धी अर्जुन राईले उहाँलाई चुनावी मोर्चामा धेरै सहयोग गरी विजयी गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। निरन राई अघिल्लो पटकको काम र एमालेप्रतिको जनताको आकर्षणका कारण आफूले जित्ने दाबी गर्दै आउनुभएको छ। “वडागत मत परिणाम एमालेप्रतिको जनताको आकर्षण र अघिल्लो पटकको कार्यकालमा गरेको कामको आधारमा हामी विजयी हुनेछौँ,” राई भन्नुहुन्छ। 

त्यस्तै सत्तापक्षीय गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेदवार अर्जुन राईका लागि भने यो प्रतिस्पर्धा पहिलो हो। प्रतिस्पर्धीहरू पुराना तथा कार्यकालमा असफल रहनुभएकोले जनताले उहाँहरूलाई नपत्याउने राईको दाबी छ। “म उठ्नका लागि मात्र उठेको हैन, मैले धनकुटा र धनकुटेली जनताका लागि केही गर्नुछ, मलाई जित्न असहज छैन। मतदाताले यो पटक मलाई हेर्नु हुनेछ,” राई भन्नुहुन्छ। 

 प्रदेश सभा (क)मा चौबिसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका, शहीदभूमि गाउँपालिकाको पाँच वडा तथा धनकुटा नगरपालिकाको वडा नम्बर २ बाहेकका अन्य ९ वडा पर्दछ। जहाँ ६१ हजार ५१५ मतदाता छन्। यहाँ उहाँहरू तीन जनासहित सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मनकुमार राई चुनावी मैदानमा हुनुहुन्छ।