• ८ वैशाख २०८१, शनिबार

चितवन–२ मा परिवार नै विभाजन

blog

मोदनाथ ढकाल/वसन्त पराजुली

भरतपुर (चितवन), कात्तिक २४ गते । चितवन जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको उम्मेदवारीले परिवारमै विभाजन ल्याएको छ । सङ्घीयता लागू भएपछि मतदान गर्न थालेका केही युवा तीन दशकदेखि सत्तामा रहेका ठूला राजनीतिक दलहरूप्रति निराश भएर आफ्नो प्रतिनिधिका रूपमा नयाँ उम्मेदवार चाहेका देखिन्छन् तर पुराना पुस्ताले नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता राजनीतिक दलहरूप्रति आफ्नो बफादारी देखाएका छन् । विभाजनको मुख्य कारण पनि यही बनेको छ । 

भरतपुर–११ गणेशथानका आमाहरू एमाले, कांग्रेसलगायतका ठूला राजनीतिक दललाई मत हाल्न चाहेका बेला आफ्ना छोराछोरीले ‘स्वतन्त्र’ वा स्वतन्त्र पार्टीका युवा उम्मेदवारको वकालत गरिरहेका छन् । स्थानीय बिनु राउतले धेरै वर्षदेखि आफूले एमालेलाई मन पर्ने भएकाले मत उसैलाई दिने बताउनुभयो तर छोरा जितेन्द्र राउतले आफ्नी आमासँग विमति राख्नुभयो । उहाँ भन्नुहुन्छ, “पुराना राजनीतिक दलका ‘पाका’ बाट खासै आशा छैन ।” 

हालसम्म देशमा शासन गर्ने राजनीतिक दलले लोकतान्त्रिक व्यवस्थालाई बिगारेको, हरेक क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको र नियन्त्रणको सट्टा भ्रष्टाचारमा संलग्न भएको यसअघिका निर्वाचनमा एमालेलाई नै मत दिनुभएका जितेन्द्र र उहाँका साथी सन्तोष क्षेत्रीले आरोप लगाउनुभयो ।

स्थानीय उम्मेदवारकै खोजी 

केही मतदाताले आफ्ना विकास र सामुदायिक आवश्यकताबारे छलफल गर्न निरन्तर सम्पर्कमा रहने स्थानीय उम्मेदवार चाहेको बताएका छन् । पूर्वसञ्चारकर्मी लामिछाने, वर्तमान राज्यमन्त्री उमेश श्रेष्ठ (नेका) र प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिका तत्कालीन अध्यक्ष कृष्णभक्त पोख्रेल (एमाले)ले उम्मेदवारी दिएपछि यो क्षेत्र राष्ट्रिय चर्चामा आएको छ । यस क्षेत्रमा श्रेष्ठ, लामिछाने, पोख्रेलसहित १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा छ जना स्वतन्त्र हुन् । यो क्षेत्रमा राप्रपाबाट रविन अधिकारीको उम्मेदवारी छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेका कारण यो क्षेत्र बढी चर्चामा छ । उहाँ केही महिनाअघि मात्रै पार्टी घोषणा गरेर चुनावमा होमिनुभएको हो । नारायणगढकै एक होटलमा आत्महत्या गरेका टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा हिरासतमा रहेका बेला लामिछानेका समर्थकको अभूतपूर्व भीडपछि लामिछाने यहाँबाट चुनाव लड्न आएको स्थानीयवासीले बताएका छन् । उम्मेदवार लामिछानेले आफ्नो चुनावी प्रचारप्रसारका समयमा समेत यो कुरा दोहो¥याउँदै आउनुभएको छ । स्वतन्त्र पार्टीका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारका रूपमा लिएर मतदाता अन्योलमा परेको चितवनको निर्वाचन क्षेत्र नं. १ का मतदाताजस्तै यो क्षेत्रका मतदातामा पनि यो अन्योल देखिन्छ । भरतपुर महानगरपालिकाको ११ र २९, कालिका नगरपालिकाका केही मतदाताले स्वतन्त्र र स्वतन्त्र पार्टीका उम्मेदवार एकै भएको भनी उनीहरूबीचको भिन्नताबारेमा अन्योल प्रकट गरे । उनीहरू एमाले, कांग्रेस र माओवादीको आलोचना गर्छन् तर काठमाडौँका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क राई साम्पाङको तारिफ गर्दै भन्छन्, “हामी शाह र साम्पाङजस्ता उम्मेदवार चाहन्छौँ जसले स्वतन्त्र भएर रातारात परिवर्तन गर्न सकून् ।”

एमाले र कांग्रेसको आशङ्का

युवा मतदातालाई लिएर एमाले र कांग्रेस नेतृत्वको गठबन्धनका कार्यकर्ता र मतदातामा एक प्रकारको आशङ्का छ र धेरै स्थानीय नेताले यो विषय आफ्नो पार्टीको नियन्त्रण बाहिर गएको बताएका छन् । नारायणघाटका व्यापारी वासुदेव अधिकारीले परम्परागत मतदाता समूह अक्षुण्ण नभए पनि स्वतन्त्र उम्मेदवारप्रति पनि मतदाताको खासै आकर्षण नरहेको बताउनुभयो । यसले मतान्तरको सम्भावनालाई सङ्केत गर्छ । “परम्परागत मतदाताको समूह यथास्थितिमा छैन । स्वतन्त्रहरूप्रति पनि विश्वास गरिसकेको अवस्था रहेन,” उहाँले थप्नुभयो, “यो क्षेत्रमा कसले बाजी मार्छ भन्नेकुरा यसै भन्न सकिँदैन ।” 

कालिका नगरपालिकाका धनबहादुर श्रेष्ठ विकासको अवस्था कमजोर भएको गुनासो गर्ने थोरै व्यक्तिमध्ये एक हुनुहुन्छ । उहाँले जनताको समस्या जान्न कहिल्यै नआउने विजयी उम्मेदवारको आलोचना पनि गर्नुभयो । कालिकाको पदमपुर क्षेत्रमा मात्रै सिङ्गल फेजको विद्युत् आपूर्ति व्यवस्था भएकोले त्यहाँका व्यवसायीका लागि लामो समयदेखि सास्ती भोग्नुपरेकोे उहाँको गुनासो छ । 

निर्वाचन प्रचारप्रसारमा अन्य दल र उम्मेदवारभन्दा स्वतन्त्र पार्टी अगाडि छ । उसले प्रचारप्रसार र घरभेट कार्यक्रमलाई आक्रामक रूपमा अगाडि बढाइरहेको छ तर अधिकांश नेताले जनताको आवश्यकता वा मागप्रति चासो देखाएका छैनन् । “हामीलाई भेट्न केही उम्मेदवार आएका छन् तर पर्चा बाँडेर मात्रै हिँडे,” भरतपुर–२९ कविलासकी मीरा श्रेष्ठ र जुगेडीका धनबहादुर श्रेष्ठले भन्नुभयो । 

भूमिहीन सुकुम्बासीका लागि पुर्जा

यहाँस्थित सुकुम्बासी क्षेत्रका बासिन्दाले आफूलाई जग्गाको स्वामित्वको प्रमाणपत्र वितरण गर्ने उचित योजना प्रस्तुत गर्ने उम्मेदवारलाई मात्रै मत दिने बताएका छन् । भरतपुर–११ की सुनिता विश्वकर्माले यस क्षेत्रमा भोगचलन गरेको जग्गा धनीपुर्जाको खोजीसँगै बेरोजगारी, लागूऔषध दुरुपयोगजस्ता समस्या रहेकाले त्यसको समाधान खोजेको बताउनुभयो  । 

“सुकुम्बासी व्यवस्थित हुनुप-यो, लागूऔषध नियन्त्रणमा ल्याउन प-यो, बेरोजगारीको समस्या समाधान गर्नुप-यो,” सुकुम्बासी बस्तीमै बसोबास गर्ने विश्वकर्माले भन्नुभयो ।  उहाँजस्ता अन्य मतदाताले पनि गत निर्वाचनमा जित्ने र हारेका उम्मेदवारहरू आफ्ना समस्या र आवश्यकताबारे छलफल गर्न कहिल्यै नआएको गुनासो गरेका छन् । सुकुम्बासीहरूको संस्था नेपाल बसोबास बस्ती संरक्षण समाजका चितवनका जिल्ला अध्यक्ष छविलाल देवकोटाले भरतपुर महानगरपालिकामा पाँच हजार ७७० भूमिहीन परिवार रहेको बताउँदै जग्गाधनीको कागजपत्र दिने वाचा गर्ने उम्मेदवारलाई मात्रै आफूहरूले मत हाल्ने बताउनुभयो ।  

चितवनको निर्वाचन क्षेत्र नं. २ मा पश्चिममा नारायणी नदी किनारदेखि पूर्वमा अग्लो पहाड सिराइचुलीसम्म, धार्मिक क्षेत्र देवघाट र इच्छाकामना मन्दिर र ऐतिहासिक क्षेत्र उपरदाङ गढी पर्दछ ।  गत वैशाखमा भएको स्थानीय निर्वाचनमा इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले अध्यक्ष र प्रमुखमा विजयी भएको थियो भने भरतपुरमा माओवादी गठबन्धनले जित हासिल गरेको थियो । निर्वाचन क्षेत्रमा रहेको २८ वडामध्ये सत्तारूढ गठबन्धनले १७ र एमालेले ११ वडा स्थानीय तहको निर्वाचनमा जित हासिल गरेका छन् । वडाध्यक्षको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा एमालेले ३५ हजार ५४३ र माओवादी गठबन्धनले ३५ हजार ३९४ मत ल्याएको थियो ।