• ७ वैशाख २०८१, शुक्रबार

आधाले घट्यो खाद्यान्न आयात

blog

काठमाडौँ, कात्तिक २४ गते । प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ४७ दशमलव ७ प्रतिशतले घटेको हो । 

चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नौ अर्ब २६ करोड १७ लाख ८३ हजार रुपियाँको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात भएको विभागको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा १७ अर्ब ७० करोड ८४ लाख ५२ हजार रुपियाँको ४६ करोड ४९ लाख छ हजार केजी खाद्यान्न आयात गरेको थियो । 

चालू आर्थिक वर्षको सो अवधिमा कुल वस्तु आयातमा १६ दशमलव २० प्रतिशतले कमी आएको छ । समग्र वस्तुको आयात घट्दा खाद्यान्न आयातमा उल्लेख कमी आएको हो । चालू खाता घाटा, शोधानान्तर घाटा र विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण सरकारले केही वस्तु आयातमा कडाइ गरेकाले समग्र आयातमा कमी आएको हो । 

अघिल्लो वर्षको सो अवधिको तुलनामा यस वर्षको साउनदेखि असोजसम्ममा चामल, मकै, गहुँ र धानको आयातमा कमी आएको विभागको तथ्याङ्क छ । गत वर्षको तुलनामा यो वर्ष गहुँ आयात ९६ प्रतिशतले कमी आएको छ भने मकै ४० प्रतिशत, धान ८७ प्रतिशत र चामल ३२ प्रतिशतले आयात घटेको छ । विभागका अनुसार सो तीन महिनाको अवधिमा चार अर्ब ९३ करोड ३२ लाख ५२ हजार रुपियाँ बराबरको चामल आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा सात अर्ब २१ करोड ९८ लाख रुपियाँको चामल आयात भएको थियो । 

यस्तै तीन महिनामा चार करोड ८५ लाख २१ हजार रुपियाँको गहुँ आयात भएको छ । गत वर्ष सोही अवधिमा गत एक अर्ब ३१ करोड १६ लाख रुपियाँको गहुँ आयात भएको थियो । 

अघिल्लो वर्षको साउनदेखि असोजसम्ममा पाँच अर्ब ६४ करोड २५ लाख रुपियाँको मकै र ३८ करोड ७५ लाख ७२ हजार रुपियाँ बराबरको धान आयात भएको थियो । यस वर्षको सोही अवधिमा मकै तीन अर्ब ४० करोड ११ लाख ५१ हजार रुपियाँ र दुई अर्ब ८८ करोड ९३ लाख रुपियाँको धान आयात भएको छ । 

यसैगरी चालू आर्थिक वर्षको पहिलो तीन महिनामा एक करोड १३ लाख ५३ हजार रुपियाँको तीन लाख ३८ हजार केजी कोदो र १८ करोड ८७ लाख २२ हजार रुपियाँको ५५ लाख २८ हजार केजी अन्य खाद्यान्न आयात भएको छ । सो अवधिमा ६५ लाख रुपियाँको जौ आयात भएको विभागको तथ्याङ्क छ । पोल्ट्री फार्मको दानाका लागि मकै बढी आयात हुने गर्छ । 

भारतले निर्यातमा प्रतिबन्ध गरेसँगै गहुँको आयातमा कमी भएको हो । रुस र युक्रेन युद्धका कारण देखाउँदै भारतले गहुुँको निर्यातमा कडाइ गरेसँगै आयातमा उल्लेख्य कमी भएको हो । भारत सरकारले गत जेठ महिनादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको हो ।