• १२ वैशाख २०८१, बुधबार

सुर्खेतका दुई हजार बढी कर्मचारी निर्वाचनमा खटिने

blog

नविन सुवेदी
सुर्खेत, कात्तिक २३ गते । 
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि सुर्खेतमा दुई हजार ३४४ कर्मचारी खटिने भएका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी कुमार ज्ञवालीले आवश्यकता अनुसार थप कर्मचारी र स्वयम् सेवक खटाइने बताउनुभयो ।

ज्ञवालीका अनुसार पाँच सय मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी, पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुई सहायक कर्मचारी र प्रत्येक मदतान केन्द्रमा एक–एक कार्यालय सहयोगी खटिने जानकारी दिनुभयो । उहाँले मतदानस्थल र मतदान केन्द्रमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी खटाइने जानकारी दिनुभयो ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ मा ७२ मतदानस्थल र १४४ मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं २ मा ६७ मतदानस्थल र १४९ मतदान केन्द्र कायम गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ (क) मा ३१ मतदानस्थल र ६४ मतदान केन्द्र तोकिएको छ भने (ख) मा ४१ मतदानस्थल र ८० मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं २ (क) मा २४ मतदानस्थल र ७३ मतदान केन्द्र तोकिएको छ भने (ख) मा ४२ मतदानस्थल र ७६ मतदान केन्द्र कायम गरिएको छ । सुर्खेतमा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र रहेका छन् भने १३९ मतदानस्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ ।