• ८ वैशाख २०८१, शनिबार

घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

blog

घर आँगनबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले घर आँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले लाभग्राही अर्थात् ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिलालाई घर आँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।

जिल्लाकै विकट तथा दुर्गम क्षेत्रका रूपमा रहेको फक्ताङ्लुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको हितलाई दृष्टिगत गर्दै घरआँगनबाटै भत्ता वितरण गरेको जनाएको छ । भौगोलिक विकटताका कारण भत्ता रकम बुझ्नलाई लाभग्राहीले निक्कै सास्ती खेप्दै आउनुपरेको थियो।

दूरदराजका गाउँ ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फलेजस्ता बस्तीका लाभग्राहीले गाउँपालिका केन्द्र पुगी भत्ता बुझेर घर फर्किनलाई तीनदेखि चार दिनसम्म बिताउनुपर्दथ्यो । लाभग्राहीले खेप्दै आएको यही अवस्थालाई दृष्टिगत गरी उनीहरूको घर–घरमा पुगेर भत्ता वितरण गर्ने अभियानको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष राजन लाबुङ लिम्बूले जानकारी दिनुभयो ।

अध्यक्ष लिम्बूका अनुसार गाउँसभामार्फत् नै सामाजिक सुरक्षा भत्ता घर–घरमै पुर्‍याएर वितरण गर्ने निर्णय भएको थियो । गाउँसभाको उक्त निर्णय कार्यान्वयन गर्दै अभियानको सुरुवात गरिएको लिम्बूले बताउनुभयो।  

यता घर आँगनबाट नै सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि दूरदराजका बस्ती मात्र नभई सबै वडाका लाभग्राहीलाई राहत मिलेको छ । घर–घरमा भत्ता रकम पाउँदा समयसँगै खर्च समेतको बचत भएकाले प्रत्येक वडाका लाभग्राहीले ठूलो राहतको महसुस गरेको गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बूले बताउनुभयो।

उपाध्यक्ष लिम्बूका अनुसार हालसम्म वडा नम्बर १ सावादिन, वडा २ खेजेनिम, वडा ४ इखाबु र वडा नम्बर ७ ओलाङ्चुङगोलामा सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको छ ।

पालिकाका ७ वटै वडामा घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियान सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता रकम सम्बन्धित वडाका जनप्रतिनिधि, वडा र बैङ्क कर्मचारीको उपस्थितिमा वितरण गरिँदै आएको छ।