अझै केही दिन वर्षा हुने

काठमाडौँ, साउन २८ गते ।  मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा भएको छ । झण्डै एक महिनादेखि कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार रातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभर वर्षा भएको र यो क्रम अझै केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले बताउनुभयो ।
“मनसुन नेपालमा बढी सक्रिय भएकाले देशभर बदली र वर्षा हुने देखिन्छ, यसअघि वर्षा भए पनि मनसुन धेरै सक्रिय नहुँदा पर्याप्त वर्षा भएको थिएन, तराईका पूर्वी र मध्य भेगमा भारी वर्षा हुने सम्भावना छ,” उहाँले भन्नुभयो ।  
जल तथा मौसम विज्ञान विभागले पनि बिहीबार विज्ञप्ति जारी गरी दुई दिन भारी वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको सेवा नियमित

उपत्यका आसपासको आकाशमा बाक्लो कुइरो लाग्नुका साथै निरन्तर वर्षा भइरहे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा नियमित भइरहेको विमानस्थलले जनाएको छ ।
बदली र वर्षा भए पनि विमानस्थलको सबै उडान यथावत् रहेको र काठमाडौँबाहिरका सबै विमानस्थलको सेवा पनि नियमित रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।
यसवर्ष गत जेठ २९ (जुन १२)बाट नेपालमा मनसुन प्रवेश गरेको थियो ।  मनसुन आगामी भदौ अन्तिमसम्म जारी रहने महाशाखाको अनुमान छ ।  कमजोर रूपमा प्रवेश भएको मनसुन सक्रिय भई देशभर फैलन लामो समय लागेको थियो ।  मनसुनी वर्षा पर्याप्त नहुँदा पूर्वी पहाडीलगायत क्षेत्रमा रोपाइँ गर्न समस्या भएको थियो ।  पश्चिमी भेगमा भने सामान्य वर्षा भइरहेको थियो ।
दुई दिनदेखि बदली र वर्षा भएपछि काठमाडौँको मौसममा परिवर्तन आएको छ ।  चर्को घाम लाग्ने र दैनिक ३० देखि ३१ डिग्रिसेल्सियसको हाराहारीमा रहँदै आएको उपत्यकाको शुक्रबारको तापक्रम अधिकतम २६ र न्यूनतम २१ डिग्रिसेल्सियस छ ।
महाशाखाको विवरण अनुसार बितेको २४ घण्टामा काठमाडौँमा १९ मिलिमिटर वर्षा भएको छ ।  त्यसैगरी ताप्लेजुङमा ५२, धनकुटामा ५४, विराटनगरमा ५७, सिमरामा ८९, भैरहवामा ८५, पोखरामा ८९ र दिपायलमा छ मिलिमिटर वर्षा भएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds