• १६ चैत २०८०, शुक्रबार

सिन्धुलीमा लोकप्रिय बन्दै थ्रेसर मेसिन

blog

सिन्धुलीको रानीबासका किसान थ्रेसर मेसिनबाट धान झार्दै । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, कात्तिक २३ गते । गाउँघरमा कृषि मजदुरको अभाव हुँदै गएपछि सिन्धुलीमा पछिल्लो समय धानबाली भित्र्याउन किसानमाझ थ्रेसर मेसिन लोकप्रिय बन्दै गएको छ । परम्परागत रुपमा खेतालाको भरमा धान भित्र्याउँदै आएका सिन्धुलीका किसान पछिल्लो समय आधुनिक थ्रेसर मेसिनप्रति आकर्षित भएका हुन् । 

खेताला पाउनै मुश्किल र पाए पनि महँगा भएकाले धान भित्र्याउन थ्रेसर मेसिन प्रयोग गर्न थालेको किसानले बताएका छन् । आधुनिक थ्रेसर मेसिनले कम समय र लागतमै धान झाँट्ने भएकाले जिल्लाका किसानको रोजाइमा सो मेसिन पर्न थालेको कमलामाई नगरपालिका –४ का किसान कृष्णबहादुर लामिछानेले बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘धान झार्न सो मेसिन केही समय अघिसम्म ठूला फाँटमा मात्रै प्रयोग हुँदैआएको थियो । अहिले ट्याक्टर जाने बाटो भएको पाखाभित्ताका खेतमा समेत प्रयोग हुन थालेको छ ।’ किसान लामिछानेले आफूले झण्डै एक बिघा खेतमा लगाएको धानबाली थ्रेसर मेसिन प्रयोग गरी दुई घण्टामा ४० मुरी धान झारेर भित्र्याएको बताउनुभयो । 

मुलुक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएका बेला जिल्लामा यतिबेला धान काट्ने र झाँट्नेमा किसान व्यस्त छन् । केही ठाउँमा किसानले परम्परागत रुपमा खेताला प्रयोग गरी धान झारेर भित्र्याउने गरेको स्थानीय बासिन्दाले बताएका छन् । काम गर्ने मानिस र दाइँ गर्न गोरु पाउन मुस्किल हुन थालेपछि आधुनिक थ्रेसर मेसिन प्रयोग बढ्न थालेको स्थानीयको भनाइ छ । 

दुधौली नगरपालिका –१ निवासी किसान थानराज अधिकारीले भन्नुभयो, “थ्रेसर मेसिनले किसानलाई निकै सहज बनाएको छ । पहिला जसरी गोरु पाइन छाडे । कामदारको अभाव छ ।” कमलाखुँज क्षेत्रमा ८० प्रतिशतभन्दा बढी किसानले काम गर्न सहज भएकाले थ्रेसर मेसिन प्रयोग गरेको उहाँले बताउनुभयो ।  

थ्रेसर प्रयोगले काम पनि छिटो, खर्च पनि कम, समयको बचत, खेताला खोज्नुपर्ने बाध्यता हट्न थालेको किसानको भनाइ छ । थ्रेसर मेसिनले काम गर्दा पैसा र समयको बचत हुने भएकाले किसान थ्रेसर मेसिनतर्फ किसानहरु आकर्षित भएका हुन् । त्यस्तै, दुधौली र कमलामाई नगरपालिकाका अधिकांश किसानले थ्रेसर मेसिन प्रयोग गर्न थालेका छन् । प्रतिघण्टा थ्रेसर मेसिनले धान पराल छुट्याएको करिब तीन हजार रुपियाँसम्म लिनेगरेको स्थानीय कृषकले बताउनुभयो ।  

कमलामाई नगरपालिका –४ च्याउकोट निवासी भरत थापामगर आफूले चार वर्षअघि तीन लाख रुपियाँमा थ्रेसर मेसिन किनेको बताउनुभयो । सिजनमा धान झार्न भ्याइनभ्याई हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिहानदेखि बेलुकासम्म एक दिन फुर्सद पाएको छैन । घण्टाको तीन हजार रुपियाँ लिएर धान झार्ने गरेको छु ।’

जिल्लामा यो वर्ष झण्डै १५ हजार ४२५ हेक्टरमा धानखेती गरिएको छ । ४९ हजार ३६० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो वर्ष रोपाइँ गरेदेखि नै मौसमले साथ दिएको केन्द्रको भनाइ छ । धान बालीमा रोग कीरा पनि कम लागेकाले धान उत्पादन बढ्ने अनुमान गरिएको कार्यालयका सूचना अधिकारी श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । 

केन्द्रका अनुसार जिल्लाको कुल जमिनमध्ये धान खेतीयोग्य जमिनको क्षेत्रफल २२ हजार ३९४ दशमलब ९ हेक्टर छ । गत वर्ष जिल्लामा १५ हजार ४२३ हेक्टर जमिनमा धानखेती भएको र उत्पादन ४२ हजार २३८ दशमलब ६३ मेट्रिक टन भएको थियो । यहाँका किसानले सावित्री, रामधान, पोख्रेली, हाइब्रिड, मन्सुली, खुमल चार लगायत जातका धान लगाउने गरेका छन् ।