• १३ वैशाख २०८१, बिहिबार

५५ करोड लगानीको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा

blog

मुस्ताङको मुक्तिनाथ क्षेत्रमा ५५ करोड रुपियाँ लगानीमा बनेको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ । तस्बिर : न्यूज एजेन्सी नेपाल

मुस्ताङ, कात्तिक २३ गते । मुस्ताङको मुक्तिनाथ क्षेत्रमा ५५ करोड रुपियाँ लगानीमा बनेको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली सङ्घका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत ५५ करोड लगानी रहेको उक्त होटल गत शुक्रवारबाट सञ्चालनमा आएको हो ।

मुक्तिनाथ क्षेत्रमा आउने आन्तरिक तथा विदेशी पर्यटकलाई खान बस्नका लागि सहज बनाउन ५५ करोडको लागतमा सुविधासम्पन्न बुटिक रिसोर्ट सञ्चालन भएको हो । मुक्तिनाथ क्षेत्रमा सुविधासम्पन्न पर्यटन पूर्वाधार होटल निर्माणले मुक्तिनाथ क्षेत्रमा धार्मिक पर्यटकहरुको वृद्धि, मुक्तिनाथ क्षेत्रको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने विश्वास लिएको होटल सञ्चालक लामाले बताउनुभयो ।


होटल सञ्चालक लामाले कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्न थालेको जानकारी दिनुभयो । पर्यटकको चाप बढे पनि स्तरीय र सुविधासम्पन्न होटल संरचनाको अभाव रहेकाले आफूले व्यक्तिगत लगानीमा सुविधासम्पन्न होटल बनाएको बताउनुभयो ।

उहाँले मुक्तिनाथ क्षेत्रमा जाने आन्तरिक पर्यटकलाई लोभ्याउने मुक्तिनाथ बनाउनका लागि यस किसिमका सुविधासम्पन्न संरचनाको आवश्यक पर्ने दाबी गर्नुभयो । सञ्चालक लामाले  धेरै पर्यटक भित्र्याउन सके स्थानीयको जीवनस्तरमा पनि सुधार ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो ।


बुटिक अवधारणामा करिब १०० रोपनीमा फैलिएको होटलबाट चारै दिशामा हिमाल अवलोकन गर्न सकिनेछ । होटलमा २० कोठा र एक हल र अन्य आठ कोठा निर्माण भइरहेको छ । होटल उच्च हिमाली क्षेत्रमा रहेकाले चिसोबाट बच्न सोना तथा स्पाको समेत सुविधा रहेको सञ्चालक लामा बताउनुहुन्छ ।

होटल सञ्चालन आएको ३५ वर्षपछि होटल मुक्तिनाथका जनतालाई हस्तान्तरण गर्ने लामाको भनाइ छ । नीलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुनेछ । समुद्र सतहबाट करिब तीन हजार ७१० मिटर उचाइमा रहेको रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्रमा बढी हिन्दुधर्मावलम्बी दर्शन गर्नका लागि पुग्ने भएकाले होटलमा हिन्दुहरुका लागि शाकाहारी रेष्टुरेण्ट सञ्चालनमा ल्याउने होटलको तयारी छ ।

उहाँले रिसोर्टमा ध्यान, योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुनेगरी पार्क तथा अन्य संरचनासमेत उपलब्ध हुने बताउनुभयो । अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गर्नुभएका लामा गैरआवासीय नेपाली सङ्घमा १३ वर्ष आबद्ध रहनुभएको थियो । काठमाडौंको ठमेलमा १०० बेड क्षमताको होटल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहनुभएको छ । गत शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङको प्रसिद्ध तीर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा पुगेर ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को उद्घाटन गर्नुभएको थियो ।